संसद अवरूद्ध भएपछि सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

संसद अवरूद्ध भएपछि सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको बेलाको कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका छन् । राजनीतिक द्वन्द्वका कारण संसद् अवरुद्ध भएको समयको तलबभत्ता नलिने भन्दै उनीहरुले सभामुख देवराज घिमिरेलाई आज लिखित रुपमा जानकारी गराएका हुन् । 

उनीहरुले सो समयको सेवासुविधा प्राप्त भएको भए आगामी दिनको हिसाबमा मिलान गरिदिन पनि आग्रह गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले सभामुख घिमिरेसमक्ष संसद् बैठक सुचारुका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका कारण आज पनि संसद् अवरुद्ध भएपछि उनले प्रतिनिधि सभाको बैठक नियमित गराउनुपर्ने माग दोहोर्याएका हुन् । संसद् अवरुद्ध भइरहँदा जनताका मुद्दा, समस्या र राष्ट्रमाथि परेका संकटका विषयमा धारणा राख्न नपाएकोमा रास्वपाले गुनासो गरेको छ ।

‘सम्मानीय सभामुख महोदयलाई हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिनुहुन विनम्र अनुरोध गर्दछ’, सभामुखलाई बुझाइएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू