सेनापतिज्यू, किन भागिरहन्छन् तपाईंका सिपाही ?

सेनापतिज्यू, किन भागिरहन्छन् तपाईंका सिपाही ?

बडो मुश्किलले जागिरमा छिरेका सिपाहीहरु एक महिनाको अवधिमै दर्जन बढी बेपत्ता भएका छन् । घर बिदा मागेर ब्यारेकबाट निस्किएका सिपाही सुजन बस्नेत फर्किएनन् । संखुवासभाको धर्मदेवी नगरपालिका–४, तिरतिरेका भीमबहादुर बस्नेतका नाति एवं डिल्लीबहादुरका छोरा उनी घरमा समस्या भएको भन्दै असार २२ गतेदेखि छुट्टीमा थिए । 

ब्याच नम्बर ३०७८८१ भएका उनी असार २९ गते हाजिर हुनुपर्ने थियो । त्यस्तै, संखुवासभाको सिलिङचोङ नगरपालिका–९, सिसुवाखोला घर भएका सिपाही दीपक कुलुङ पनि लापत्ता छन् । असार ४ गतेबाट ३० दिन छुट्टीमा बसेका उनी साउन २ गते कार्यालयमा उपस्थित हुनुपर्ने थियो । जितराम राईका नाति एवं जिमीराम राईका छोरा उनलाई बारम्बार फोन गर्दासमेत सम्पर्क हुन नसकेको बुझिएको छ । 

सिपाही प्रदीप सेढाईं समेत कसैलाई जानकारी नगराई भागेका छन् । बर्दियाको कालिका गाविस वडा नम्बर ५, सितला बस्ने देवीदत्तका नाति तथा लक्ष्मणराज सेढाईंका छोरा उनी हेटौंडानजिक सुनाचरी इमल्सन प्लान्टमा काज खटिएका थिए । वृत्ति विकासको तालिमका लागि छनोट भएका उनी साउन ३ गते भागेका हुन् । एक दिन घर बिदामा छोडिएका सिपाही राजेन्द्र परियारको पनि अत्तोपत्तो छैन । पर्साको ठोरी गाउँपालिका–२ का समशेर दमैको नाति एवं धनबहादुर परियारको छोरा उनी साउन ७ गते हाजिर हुने शर्तमा निस्किएका थिए । यता, बर्दियाको ठाकुरबाबा नगरपालिका–२, घर भएका सिपाही नवीनकुमार कँडेल १७ दिन छुट्टी लिएर असार १९ गते ब्यारेकबाट बाहिरिएकोमा हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीमा रिपोर्ट परेको छ ।

श्री इन्द्रबक्स गणमा सञ्चालित ‘सि .स. १७ बिल्लादार ग्रेड–तीन’ तालिममा संलग्न विशाल तामाङ पेरिमिटर नाघेर साउन ७ गते बिहान भागेका छन् । लमजुङको दोर्दी गाउँपालिका–८, निवासी खुशीराम तामाङका नाति एवं सोमबहादुरका छोरा उनलाई भेटेमा पक्राउ गरेर जानकारी गराउन प्रहरीलाई गुहारिएको छ । रामेछापको पकरबास गाविस–२, का लालबहादुर कार्कीका नाति एवं रामबहादुर कार्कीका छोरा होमबहादुर ब.क. सिका रुपमा सेनामा कार्यरत छन् । ब्याच नम्बर २९३६९६ भएका उनी घरायसी समस्या देखाएर असार १९ गतेदेखि साउन ७ गतेसम्म छुट्टीमा बसेका थिए । २० दिन बिदा मागेर निस्किएका उनको समेत कुनै अत्तोपत्तो छैन । 

हु.क खेमराज पौडेल चुदाली यसैगरी साउन ७ गतेदेखि गायव छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, भेलाइ निवासी भागीरथ शर्मा पौडेलका नाति एवं आनन्तप्रसाद चुदालीका छोरा उनी बेपत्ता भएपछि प्रहरीले खोजी कार्यमा सहयोग गरिरहेको छ । 

त्यसैगरी साउन ७ गतेबाट बिदामा बसेकी सिपाही ललिता न्यौपाने अहिलेसम्म पनि सम्पर्कमा नआएको बुझिएको छ । दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका–५, बस्तीकोटका प्रभाखर उपाध्यायको नातिनी एवं यज्ञप्रसाद जैसीकी छोरी उनी आठ दिन बिदा मागेर ब्यारेकबाट निस्किएकी थिइन् । साउन १४ गते हाजिर हुनुपर्ने उनको कुनै अत्तोपत्तो छैन

त्यस्तै, एकदिन छुट्टीमा बसेका अर्का एक सिपाही बेपत्ता भएको साता कटिसकेको छ । साउन १२ गते घर बिदामा गएका सिपाही मिसन तामाङको कुनै खबर छैन । उदयपुरको भलायडाँडा गाउँपालिका–७ का सुकजित तामाङका नाति एवं मदनबहादुरको छोरा उनलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ । 

दुखा साह पनि घर बिदामै ब्यारेकबाट निस्किएका थिए । उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत उनी रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ६ का विलासको नाति तथा गौरीशंकर साहको छोरा हुन् । अर्का सिपाही मिलन चौधरी स्मार्ट डिजिटल कार्डसहित भगौडामा परेका छन्् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का जागुरामको नाति एवं श्यामलाल थारुको छोरा उनको अत्तोपत्तो नलागेपछि सेनाले भेटेमा पक्राउ गर्न अनुरोध गरेको छ । 

यसैबीच सेनाका दुई जना पेरिमिटरको तारबार नाघेर भागेका छन्् । ती उमेश केवट र अजयकुमार पासवान हुन्् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नेउर केवटका नाति एवं रामशरणका छोरा उनी साउन १४ गते भागेका हुन् । 

फर्किने पनि छन् 

घरायसी समस्या दर्शाई सिपाही रुद्रबहादुर पौडेल साउन ५ गते छुट्टीमा बसेका थिए । ब्याच नम्बर ३०८३१४ भएका उनी साउन ६ गते दिउँसो ४ बजेभित्र हाजिर हुनुपर्ने थियो । सुर्खेतको लेकबेशी नगरपालिका–५ का रत्नबहादुर पौडेलका नाति एवं हर्षबहादुरका छोरा उनी हाजिर हुन नआएपछि सेनाले प्रहरीलाई गुहा¥यो । उनी साउन ७ गते बिहान ११ बजे नै हाजिर हुन आएको बुझिएको छ ।

कसैलाई सुँइको नदिई बीच बाटोबाटै भाग्ने अर्का सिपाही हुन्, अर्जुन घिमिरे । ब्याच नम्बर ३०३०४४ भएका उनी श्री नं २१ बाहिनी अड्डामा काज खटिएका थिए । सिन्धुलीको जरायोटार गाउँपालिका–६ बस्ने बालकृष्ण घिमिरेका नाति एवं दिनानाथका छोरा उनी असार २५ गते भागेर साउन ४ गते हाजिर हुन आएको प्राप्त समाचारमा जनाइएको छ । 

गुल्मपतिहरूको हेरफेर

श्री नम्बर ३ राजदल गणका गुल्मपति मदन घिमिरेले दुर्गादल गुल्मको जिम्मेवारी सम्हाल्ने भएका छन् । सहसेनानी केशव खड्का र उनीबीच साउन ९ गते गुल्मपति कार्यभार बुझ–बुझारथ भएको छ । त्यस्तै, सेनानी अनिल खड्का श्री नम्बर २५ बाहिनी अड्डामा सरुवा  भएपछि उनको जिम्मेवारी मकर गण (काज–सैनिक इन्टेलिजेन्स शिक्षालय) का अशोककुमार कार्कीले पाएका छन् । श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका सेनानी झलक सुवेदी र श्री सिद्धिबक्स गणका गुल्मपति सेनानी राजेश रानाको समेत गुल्म हेरफेर गरिएको छ । सुवेदी नम्बर २७ बाहिनी अड्डामा सरुवा भएपछि उनको कार्यभार रानाले सम्हालेका हुन् । उता प्रमुख सेनानी शशीकुमार कार्की र विकास अधिकारीबीच गणको बुझ–बुझारथ भएको छ । कार्की वार कलेज पुगेपछि उनको ठाउँमा नम्बर २ सैन्य तालिम केन्द्रका अधिकारी आएका हुन् ।  

श्री असबाब निर्देशनालय (काज एम्युनिशन कार्य महाशाखा) का सेनानी विनोदविक्रम बस्नेत र विनिश श्रेष्ठबीच गणको बुझबुझारथ भएको छ । त्यस्तै, प्रमुख सेनानी रविन थापा र सुमन श्रेष्ठबीच पनि कमाण्ड बुझ–बुझारथ सम्पन्न भएको छ । थापा सैनिक सामग्री प्राप्ति निर्देशनालय सरुवा भएपछि उनको जिम्मेवारी श्री नम्बर २८ बाहिनी अड्डाका श्रेष्ठले सम्हालेका छन् । 

प्रमुख सेनानी घनश्याम भट्टराई श्री नम्बर १९ बाहिनी अड्डा पुगेका छन् । साउन १० गते उनले कार्यभार श्री पश्चिम पृतना हेडक्वार्टरका संगम अधिकारीलाई सुम्पिएका हुन् । प्रमुख सेनानी जयराम बानियाँको नेपाली सैनिक वार कलेजमा सरुवा भएको छ । उनको जिम्मेवारी शान्ति कार्य निर्देशनालयका हरिहर गिरीले सम्हालेका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी राजेन्द्र बोगटीले विशेष फौज बाहिनीको प्रमुख सेनानी विवेकविक्रम शाहको जिम्मेवारी पाएका छन् । शाह सरुवा भएर नम्बर १८ बाहिनी अड्डा पुगेपछि उनलाई त्यहाँको गणपति बनाइएको हो । प्रमुख सेनानी विकास अधिकारी साउन १ गतेबाट श्री खड्गदल गणको गणपतिमा सरुवा भएका छन् । उनको कार्यभार युद्धभैरव गणका प्रमुख सेनानी बद्री कुँवरले सम्हाल्ने छन् । सेनानी वासुदेव पंगेनी र महेश्वर थापाबीच गुल्मपति कमाण्डको बुझ–बुझारथ भएको छ । पंगेनी नम्बर ९ बाहिनी अड्डा सरुवा भएपछि रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका थापा उनको ठाउँमा आएका छन् । 

प्रमुख सेनानी अरुण कार्की सरुवा भएर श्री नीति तथा योजना निर्देशनालय आएका छन् । नम्बर ९ बाहिनी अड्डाका चिरञ्जीवी पौडेललाई उनको ठाउँमा ल्याइएको छ । 
 

टिप्पणीहरू