सभामुखको भूमिकामाथि रवि लामिछानेको आरोप : संसद ‘हाइज्याक’ भयो

सभामुखको भूमिकामाथि रवि लामिछानेको आरोप : संसद ‘हाइज्याक’ भयो
सुन्नुहोस्

पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरे दलीय छायाँबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् । सभामुखले आफू अनुकुल बैठक चलाएर संसद ‘हाइज्याक’ गरेको उनको टिप्पणी छ । 

एमालेको अवरोधले बैठक स्थगित भएपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालयको जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरियो ।’

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएको छ । तर, एमालेले संसद अवरोध गरिरहेका बेला आज सत्तापक्षका सांसदलाई सभामुखले बोल्ने समय दिएपछि उहाँको भूमिकालाई लिएर कतिपयले प्रश्न उठाइरहेका बेला लामिछानेको पछिल्लो प्रतिक्रिया आएको हो । 

आज बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि काँग्रेस संसद सुनिल शर्माले बोल्ने समय पाएका थिए । त्यसपछि समय पाएका एमाले सांसदहरुले आयोग गठनको माग गर्दै नाराबाजी गर्न थालेका हुन् ।

त्यतिबेला रास्वपाका सांसदहरू टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराइरहेका थिए । तर, यसअघिका बैठकहरुमा जस्तै सभामुख घिमिरेले भदौ ३ गते बस्ने गरी बैठक स्थगितको घोषणा गर्नुभयो । 

सभामुखको तटस्थ भूमिकाप्रति सत्तापक्षका सांसदहरुले पनि प्रश्न उठाइरहेका छन् । प्रमुख प्रतिपक्षी एमालेलाई आफ्नो कुरा राख्न दिने र सदन चलाउन थप पहल नै नगरी स्थगित गर्ने गरेको आरोप उहाँमाथि लागेको छ । 

रास्वपाका सभापति लामिछानेले पनि योजनाबद्ध रुपमा प्रमुख प्रतिपक्ष बोलिसकेपछि अरु प्रतिपक्षकोसमेत आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताएका छन् ।

टिप्पणीहरू