जसले दिन्छ लाखौं घुस, उनैसँग जेलर खुस

जसले दिन्छ लाखौं घुस, उनैसँग जेलर खुस
सुन्नुहोस्

संखुवासभास्थित खाँदबारी कारागारमा दुई कैदीकन्दीको मृत्यु प्रकरणमा जेलर राजेन्द्र घिमिरे कारवाहीमा तानिएको घटना सेलाउन नपाउँदै सिन्धुपाल्चोक कारागारका जेलर अनिल बुढाथोकीको चरम बदमासी बाहिएको छ । उनले चौकीदार नियुक्तिमा चलखेल गर्दै अस्वभाविक चुरीफुरी बढाएका छन् । चौतारा कारागार बन्दीगृहमा चौकीदार, मूल नाईके, शिक्षक नाइके फेरबदल गर्न लाखौं रकम बार्गेनिङ गरिएको छ । बुढाथोकीले अवको चौकीदार बनाउन कम्तीमा १० लाख रुपियाँ मागेका छन् । तलदेखि माथिसम्मै सेटिङ मिलाउनुपर्ने भनेर उनले रकम तोकेका हुन् । 

चौतारा कारागारको बन्दीगृहमा अहिले १ सय २७ जना कैदीबन्दी छन् । जम्मा सात जना महिना बन्दी राख्नका लागि निर्माण गरिएको सो कारागारमा कैदीबन्दी कोचाकोच छन् । यस्तो भएपछि दुई–तीन जना मात्रै चौकीदार बन्न आकाँक्षी छन् । सुन तस्करी काण्डका दावा शेर्पा र लागुऔषध कारोवारमा थुनामा सजाय भोगिरहेका भीमबहादुर बस्नेत चौकीदार बन्न मरिहत्ते गरिरहेका छन् । बुढाथोकीले भने बस्नेतलाई सर्लक्कै कापी च्यापेको देखिन्छ । उनलाई चौकीदार बनाइदिने आश्वासनसहित स्थानान्तरण गरेर ल्याइएको थियो । बस्नेतका छोराछोरी बिदेश गएका र त्यहाँ राम्रो कमाइ गर्ने भएकोले पनि उनीसँग लाखौं रुपियाँ कुम्ल्याएर चौकीदार बनाउने खेलोमेलो छ ।

चौकीदार बन्न सुरक्षा समितिको संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा कारागार व्यवस्थापन विभागको समर्थन चाहिन्छ । त्यसो त सुन तस्करी काण्डका दावा शेर्पालाई पनि जेलर बुढाथोकीले बिच्क्याएका भने छैनन् । तपाईं राम्रै हुनुहुन्छ, तर तलदेखि माथिसम्म सेटिङ मिलाउनुपर्छ, कुरो बुझ्नुस् न भन्दै थामथुम पारिरहेका छन् । यसअघि जिल्ला प्रशासनमा नागरिकता प्रमाणपत्र जारी गर्दा अनेकौं बहानाबाजी गरेर सेवाग्राहीलाई सताउँदै विवादमा तानिएका थिए । प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत नहुँदाका बखत अड्कोपड्को फुकाउन कारागारका जेलरलाई झिकाएर कामकाज लगाउने चलन छ ।

हो, त्यसै बेला प्रशासनमा नागरिकता बनाउन जाँदा पनि खाजाखर्च भनेर उनले खुलेआम रकम माग्ने गरेका थिए । घुस होइन, खुश त हो नि, पैसो दिने भए चाँडै काम, नभए घरतिर जाम् भन्दै रकम असुल्ने गरेका थिए । उनले ठुल्ठूला नेता, उद्योगी, काला ब्यापारी र पहुँचवालालाई चाँहि बिना सिफारिसै नागरिकता बनाएर राजधानी काठमाडौंमा घर डेरासम्म लगिदिने गरेका थिए । 

– श्रीराम शर्मा
 

टिप्पणीहरू