साउदीको तेलसँग नेपालको पानी साटफेर गर्ने पर्यटनमन्त्रीको प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पानी र साउदी अरेबियाको तेल साटफेरको प्रस्ताव राख्नुभएको छ ।
नेपालका लागि साउदीका राजदूत साद अबु हाइमेदसँग आज भएको भेटवार्ताका क्रममा उहाँले यस्तो प्रस्ताव गर्नुभएको बताइएको छ । मन्त्री किरातीले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै आपसी सहकार्यका लागि आफूले केही सवालहरु उठाएको जानकारी दिनुभएको छ ।
राजदूतसँगको भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखिएको छ, ’नेपालको लागि साउदी अरबका महामहिम राजदूतसँग भेट भयो । हामीले उठाएका सवालहरुः (१) साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’
त्यस्तै, उनले पैसाको धनी साउदीलाई प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्न आग्रह गर्नुभएको छ । ’तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटकलाई पठाई दिनुहोस्’, उहाँको प्रस्ताव छ, ’पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’
भेटका क्रममा भैरहवा र पोखरा विमानस्थलका लागि साउदीबाट सिधा हवाई उडानको पहल बढाईदिन पनि राजदूत हाइमेदलाई मन्त्री किरातीले विशेष आग्रह गरेको जानकारी दिइएको छ ।
टिप्पणीहरू