सुन तस्करीको अनुसन्धान सीआईबीले नै गर्छ : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नै टुंगोमा पुर्याउने प्रष्ट पार्नुभएको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सीआईबीले नै यो प्रकरणको अनुसन्धान टुंग्याउने बताउनुभएको छ । भन्नुभयो, ’सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । उसैले नै यसलाई टुंगोमा पुर्याउने छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले सोही प्रकरणलÞाई लिएर प्रमुख प्रतिपक्षले गरेको संसद् अवरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको पनि उल्लेख गर्नुभयो ।
‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निश्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ’, उहाँले भन्नुभयो, ’हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष निस्केला र पर्सिसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौं ।
गत साउन २ गते मोटरसाइकल र स्कुटीको ब्रेक शुमा लुकाएर कार्गो मार्फत् हङकङबाट नेपाल भित्र्याइएको सुन त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिएको थियो । उक्त सुन राजश्व अनुसन्धानको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।
विमानस्थलजस्तो सुरक्षित ठाउँबाट त्यति ठूलो परिमाणमा सुन बाहिरिएकाले यस प्रकरणमा सरकारकै संलग्नता रहेको दाबीसहित उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको एमालेले सोही कारण सदन अवरुद्ध गरिरहेको छ । सरकार भने सीआईबीको अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले अरु कुनै संयन्त्र बनाउन नहुने अडानमा देखिन्छ ।
टिप्पणीहरू