भावी प्रधानन्यायाधीशविरुध्द तीन उजुरी,बिचौलिया राखेर काम गराएको आरोप

भावी प्रधानन्यायाधीशविरुध्द तीन उजुरी,बिचौलिया राखेर काम गराएको आरोप
सुन्नुहोस्

कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिले संसद सचिवालय सिंहदरबारमा हिजै आमन्त्रण गरेको जानकारी दिएको छ ।

समितिले आज बिहान साढे १० बजे उहाँविरुध्द उजुरी हाल्नेहरुसँग छलफल गर्ने योजना बनाएको छ । उहाँविरुध्द तीन वटा उजुरी परेका छन् । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गरिने कार्यतालिका छ ।

समिति स्रोतले भनेको छ,‘उजुरी सामान्य प्रकृतिकै छन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली, विशेष अदालतका तत्कालीन न्यायाधीश बाबुराम रेग्मीलाई कारबाही गर्न नसकेको आरोप छ । नोबल मेडिकलका मालिक तथा सांसद सुनिल शर्मालाई हिरासतमुक्त गराउने जिल्ला न्यायाधीश दण्डपाणी शर्मालाई कारबाही गर्न नसकेको र बिचौलिया राखेर काम गरेको अर्को उजुुरी  छ ।’

एउटा उजुरी भने निकै लामो छ । संवैधानिक परिषदले ऐन संशोधन गरेर शून्य बनाएको अवस्थामा भएका कामकारबाही र गतिविधिबारे एसपी तिमिल्सिनाको नाममा उजुरी परेको हो । अरु नआए पनि आज उनै तिमिल्सना आफ्नो उजुरीबारे प्रष्ट पार्न समिति बैठकमा पुग्ने स्रोतको दाबी छ । 

प्राप्त जानकारीअनुसार प्रस्तावित प्रधानन्यायाधीशविरुध्द एउटा उजुरी  इमेलबाट प्राप्त भएको थियो । एउटाचाहिँ अनुराधा नितुको नाममा छ । अनुुराधाले दण्डपाणीलाई कारबाही नगरेको विषयमा उजुर हालेकी छन् ।
 

टिप्पणीहरू