उताका गृहमन्त्री बितेको ठाउँमा कहिले हो त उपनिर्वाचन ?

उताका गृहमन्त्री बितेको ठाउँमा कहिले हो त उपनिर्वाचन ?

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भेट गर्नुभएको छ । थपलिया हिजो दिउँसो  खड्कासँग कुराकानी गर्न सिंहदरबार पुग्नुभएको थियो । 

एक्लाएक्लै भएको भेटमा थपलियाले रिक्त केही स्थानमा हुनुपर्ने  उपनिर्वाचनबारे छलफल गर्नुभएको रक्षा मन्त्रालय स्रोतले बताएको छ । दलीय गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट नपाएपछि काँग्रेसका उपप्रधानमन्त्रीसँग छलफल गरिएको बुझिएको छ । 

यता निर्वाचन आयोग स्रोतले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो समयदेखि भेटको समय प्राप्त हुन नसकेपछि विषयवस्तुबारे सरकारलाई जानकारी गराउन वरीयताको दोस्रो नम्बरमा रहेका उपप्रधानमन्त्रीसँग प्रमुख आयुक्तले भेट गर्नुभएको पुष्टि गरेको छ । अब गृहमन्त्रीको जिम्मेवारीमा रहनुभएका अर्का उपप्रधानमन्त्रीसँग पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले भेट गर्नुहुनेछ । 

निर्वाचन ऐन संशोधनको विषय पनि सरकारलाई जानकारी गराउनुपर्ने भएकाले आयोगका अधिकारीहरुले भेटघाटलाई महत्व दिएका छन् । यसबीच बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कच्चा चालकको लापरबाहीका कारण  सवारी दुर्घटनामा निधन भएको छ । सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ । त्यसको निम्ति
बजेट र समयको जोहो गर्नुपर्ने हुन्छ । 

आयोगका एकजना उच्च अधिकारीका अनुसार उपननिर्वाचनको निम्ति कम्तीमा एक करोड रुपैयाँ बजेट आवश्यक पर्छ । साथै,प्रदेशभरका मतदाताको नामावली तयार गर्नुपर्ने  हुन्छ । प्रदेशभरको मतदाता उम्मेदवार बन्न पाउने भएकाले त्यो बाध्यतामा आयोग देखिन्छ । 

सत्ता गठबन्धनबाट काँग्रेसका सिंह गत आमनिर्वाचनमा विजयी भएका थिए । अन्य स्थानीय तहमा भएका अध्यक्ष,उपाध्यक्ष,प्रमुख, उपप्रमुख तथा वडा सदस्य रिक्तको हकमा भने प्रदेश वा संघीय संसदका सदस्यको झैँ उपनिर्वाचन अपर्झट गराइहाल्नुपर्ने  अवस्था छैन । प्रदेशका हकमा एक एक मतको कति महत्त्व हुन्छ भन्ने कुरा कोशी प्रदेश सरकार गठनको महाभारतले देखाएकै छ ।

टिप्पणीहरू