लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ को तयारी

लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ को तयारी
सुन्नुहोस्

कृषि ज्ञान केन्द्र लमजुङले ‘कृषि तीज गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ । केन्द्रले हरितालिका तीजको अवसरमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार गीत, संगीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । सदरमुकाम बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रतियोगिता सञ्चालन गरिने छ । 

केन्द्रले प्रत्येक पालिकाबाट एक टिम छनौट गरी प्रतियोगितामा सहभागिताका लागि पठाउन सबै पालिकालाई अनुरोध समेत गरेको छ । सहभागी हुन सम्बन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृषक समूह वा कृषि सहकारी संस्था हुनुपर्ने तथा कृषक पाठशालामा आबद्ध समूह तथा सहकारी हुनुपर्ने जनाइएको छ । 

केन्द्रका अनुसार प्रत्येक टिममा बढीमा सात जना सहभागी हुनुपर्ने र लोकलयमा आधारित कृषिका विषयवस्तु बोकेका तीज गीत हुनुपर्ने प्रतियोगिताको शर्त छ । प्रथम हुने टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा पठाइने छ ।
 

टिप्पणीहरू