युवासंघका अध्यक्षमाथि धनकुटामा आक्रमण
नेकपा एमालेको भातृ संगठन युवासंघका अध्यक्ष क्षितिज थेवेमाथि आक्रमणको प्रयास भएको छ । संघको जिल्ला भेला तथा प्रशिक्षणका लागि धनकुटा जाने क्रममा पहिचानवादी आन्दोलनकारीको समूहले उनलाई ढुंगामुढा गरेको हो ।
संघका इञ्चार्ज महेश बस्नेतले जसपाका केन्द्रीय सदस्य आङ्गकाजी शेर्पाको उक्साहटमा केही व्यक्तिले धनकुटाको चौबिसे जाने क्रममा थेवेमाथि ढुङ्गामुढा गरेको आरोप लगाएका छन् । सरकारले आक्रमणकारीलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिनेसमेत उनले चेतावनी दिए ।

'आङ्गकाजी शेर्पा भन्ने अराजकको उक्साहटमा केही ब्यक्तिले युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणमा चौबिसे जाने क्रममा अध्यक्ष क्षितिज थेवेमाथि ढुङ्गामुढा गर्ने काम गरेका छन्', बस्नेतले फेसबुकमा लेखेका छन्, 'लोकतन्त्रमा राजनैतिक गतिविधि नियन्त्रण गर्ने अराजक प्रबृति राज्यले नियन्त्रण गरोस् नत्र प्रतिरोध गर्न बाध्य हुनेछौं ।'
प्रदेश १ को नाम कोशी राखेकोमा असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेको पहिचानवादी समूहले एमाले नेता-कार्यकर्तामाथि निरन्तर आक्रमण प्रयास गरिरहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वमुख्यमन्त्री तथा एमाले कोशीका नेता हिक्मत कार्की, सांसद रामबहादुर मगरलगायत पहिचानवादीहरुको निशानामा परेका थिए ।
टिप्पणीहरू