शुल्क बढाउने निर्णय फिर्ता लिन आईओईलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इञ्जिनियरिङ कार्यक्रमको शुल्क बढाउने निर्णय फिर्ता लिन इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिनुभएको छ ।
अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले निर्णय कार्यान्वयन नगराउन आईओईलाई निर्देशन दिनुभएको हो । नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्यौल गर्न एउटा समिति गठन गर्नसमेत प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले बताइन् ।
आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुनेगरी स्नातक (बी.ई./बी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्णतर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्याएको थियो ।
टिप्पणीहरू