एमसिसी कार्यान्वयनप्रति अध्यक्ष नेपालको घुमाउरो विमत्ति

एमसिसी कार्यान्वयनप्रति अध्यक्ष नेपालको घुमाउरो विमत्ति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताउनुभएको छ ।

आज सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले एमसिसी सम्झौता सँगै नेपालको संसदले अनुमोदन गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने पनि उल्लेख गर्नुभयो । 

नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

उहाँले कुनै पनि विषयमा अनुचित सम्झौता आफूहरुलाई स्वीकार्य नहुुने प्रष्ट्याउदै कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको एमसिसी सम्झौताको घुमाउरो बिरोधसमेत गर्नुभयो । पार्टीभित्रै सम्मानित नेता झलनाथ खनाल र मोर्चाको एउटा घटक नेकपाको चर्को विरोधका बीच एमसिसी परियोजना कार्यान्वयनमा गएको भोलिपल्ट अध्यक्ष नेपालको यस्तो धारणा आएको हो । 

करिब ५० अर्ब रुपैयाँको अमेरिकी सहायता एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको सार्वभौमिकता, स्वतन्त्रता र तटस्थ परराष्ट्र नीति प्रतिकूल रहेको भन्दै विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायतले बिरोध गरिरहेका छन् ।

टिप्पणीहरू