पुराना पार्टीविरुद्ध कृतिम भाष्य निर्माण गरेर गणतन्त्रमाथि आक्रमणको प्रयास भैरहेको छ - लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना पार्टीहरु खराब छन् भन्ने कृतिम भाष्य निर्माण गरेर देशमा अराजकता निम्त्याउने काम भैरहेको बताएका छन् ।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि हिजो भएको खुकुरी प्रहारको घटनाप्रति आपत्ति जनाउँदै उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा यस्तो धारणा राखेका हुन् । लेखकले यादवमाथि भएको खुकुरी प्रहारलाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञासमेत दिए ।
लोकतान्त्रिक आन्दोलनका लागि लामो संघर्ष गरेर स्थापित भएका कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर गणतन्त्रविरोधी शक्तिहरुको उक्साहटमा उक्त घटना घटाईएको लेखकको आशंका छ । लोकतन्त्रका लागि इतिहासदेखि लड्दै आएको कांग्रेसका नेतामाथि खुकुरी हानेर कांग्रेस समाप्त पार्ने सपना नदेख्न पनि नहुने चेतावनी दिए ।
लोकतान्त्रिक व्यवस्था नै शासन व्यवस्थाको सबैभन्दा उत्कृष्ट व्यवस्था भएको बताउँदै सांसद लेखकले यसमा कमीकमजोरी भए लोकतान्त्रिक पद्धतिबाटै हाल खोजिपर्नेमा पनि जोड दिएका छन् । उनले भने, ‘लोकतन्त्रमा पनि केही कमीकजोरी हुनसक्छन् । लोकतन्त्र भनेको आजको दिनमा सबैभन्दा उत्कृष्ट व्यवस्था हो । संसारभर सम्भावना भएका विकल्प रहेका व्यवस्थामा सबैभन्दा राम्रो व्यवस्था भनेर स्थापित भएको तथ्य हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर दलहरूले मुलुकलाई निकास दिन सक्दैनन् भन्ने कृतिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैले सपना देखेको भए त्यो पूरा नहुने पनि उनले प्रष्ट पारे ।
टिप्पणीहरू