गगन थापाको टिप्पणी : दाइभाउजू प्रवृत्तिले पार्टीमा विभेद बढायो
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा बढेको दाइभाउजू प्रवृत्ति अन्त्य गरेर आन्तरिक लोकतन्त्र बजबुत बनाउने उद्घोष गरेका छन् । सभापति शेरबहादुर देउवाका अति विश्वासपात्र मानिने स्वास्थ्यमन्त्री मोहन बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोक पुगेका उनले उक्त धारणा राखेका हुन् ।
महामन्त्री थापाले पार्टीभित्र विभेद कायम रहेसम्म असन्तुष्टि अन्त्य नहुने पनि बताए । त्यसक्रममा उनले भने, ‘पार्टीभित्र विभेद भयो, न्याय भएन भन्ने छ, परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन् । परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन् ।’
काँग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको थापाको भनाई छ । सभापति देउवाको नाम नलिई उनले भने, ’टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको हो ।’ काँग्रेसमा आफूभन्दा उपल्लो पदको नेतालाई दाइ सम्बोधन गर्ने चलन छ । दाइको श्रीमतीलाई भाउजू भनिन्छ ।
दाइले पाएको टिकट वितरणको अधिकार भाउजूमा पुग्ने, त्यसले कार्यकर्तालाई न्याय नगर्ने र पार्टीमा विवाद उत्पन्न हुने बताउँदै उनले ’दाइवाला’ परिपाटी १५ औँ महाधिवेशनबाट बदल्ने अठोट समेत गरेका छन् ।
’सबै अधिकार दाइलाई दिनुभयो भने उहाँले टिकट भाउजूलाई दिन्छन् । अधिकार दाइलाई दिएपछि भाउजूलाई दियो भनेर विरोध गरेर हुन्छ ?’, महामन्त्री थापाले भने, ’त्यसैले दाइले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने भन्ने कुरा हो । कुनै एउटा दाइको कुरा मात्रै होइन । भोलि अर्को दाई आउला । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’
उनले समानुपातिक उम्देवार पनि खल्तीबाट झिक्ने अहिलेको अभ्यास रोक्नुपर्नेमा जोड दिँदै त्यसो गर्न सके पार्टीमा कुनै नेता विशेषको दादागिरी अन्त्य हुने बताए ।काँग्रेसको इतर खेमाका नेताहरुले संस्थापन पक्षसँग असन्तुष्टि बढेका बेला ‘दाजुभाउजूको पार्टी’ भन्ने गरेका छन् । यसअघि गगन निकट स्वर्णिम वाग्लेले पार्टी परित्यागको घोषणा गर्दा पनि दाजुभाउजुको पार्टीमा आफूलाई टिक्न नदिएको आरोप लगाएका थिए ।
महामन्त्रीले दाइभाउजू भनेर सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा सांसद डा. आरजू राणालाई लक्षित गर्नुभएको हो ।
टिप्पणीहरू