खसी, गाई र सांसद

खसी, गाई र सांसद

अस्ति मात्रै काठमाडौंमा एक जना सांसदलाई खुकुरी हानियो । त्यो पनि गर्धनमै । खुकुरी गर्धनमै प्रहार गरेबाटै थाहा हुन्छ, यो सानोतिनो प्रहार होइन । यसलाई सांघातिक प्रहार नै भन्नुपर्छ । सांसदलाई शब्दले, गालीले प्रहार गर्नेहरू त प्रशस्तै छन् । अब खुकुरीले प्रहार गर्नेहरू पनि आउन थाले ।

खासमा गर्धनमा प्रहार गर्ने भनेको राँगा, भैंसी, खसी, बोकालाई हो । प्रहार गर्ने महानुभावले सांसदलाई पनि कतै खसी पो देखेछन् कि क्या हो ? खसीलाई प्रहार गर्न त पाइहालिन्छ । अथवा गाई पो देखेछन् कि ? यति बेला देशमा गाईमाथिको प्रहार पनि खुबै चर्चित छ ।

यदि सांसदलाई पनि गाई नै ठानेर प्रहार गरेको भए अहिलेसम्म त उनले पनि बुझिसके होलान्, कि सांसदज्यू गाई होइन । यदि सांसद पनि गाई भइदिएको भए यतिबेलासम्म देशमा आगो बलिसक्थ्यो होला । गाईलाई गर्धनमै खुकुरी हाने भन्दै ठाउँ ठाउँमा राँके जुलुस निक्लिसक्यो होला । नाराबाजी भइसक्यो होला । अथवा नेपाल बन्दै भइसक्थ्यो होला कि क्या हो, क्या हो । तर सौभाग्य, माननीयज्यू गाई हुनुहुन्छ । त्यसैले उहाँमाथि खुकुरी प्रहार भए पनि कसैले खासै सरोकार देखाएन ।

ए, मान्छे पो ? राप्रपाले त बालै दिएन । यदि गाईलाई गर्धनमा खुकुरी हानेको भए राप्रपाले सडकमा आगो बालिसक्थ्यो होला । राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीहरू निधारमा रामतिलक लगाएर मैदानमा आइसक्थे होलान् । तर आएनन् । किन आउनु ? गाईलाई गर्धनमा हानेको भए पो । सांसदलाई मात्रै हानेको रहेछ त ! 

टिप्पणीहरू