गापसे चेकिङ

गापसे चेकिङ

तीन हफ्तै भो, बालेनकी श्रीमती चढेको गाडीमा ट्राफिकले चेकजाँच गरेपछि झण्डै सिंहदरवार नजलेको । यस्तो बबाल चलिरहेको बेला हिजो स्वयम् बालेनै चढेर आएको गाडीमा पनि चेकजाँच भएको रहेछ । सिंहदरवार फेरि जलाइदेलान् भनेर यो चेकजाँचवाला घटनाचाहिँ ट्राफिकले गोप्य नै राखेको रहेछ । तर ट्राफिकले गोप्य राखे पनि सूचना चुहिएर मलाईचाहिँ फ्याट्टै थाहा भइहाल्यो । 

ओके । भएको के रहेछ भने बालेन साह कतैबाट आइरहेका रहेछन् । (वा कतै गइरहेको पनि हुन सक्छ ।) ट्राफिकको चेकजाँचमा परिहालियो । शनिवार पनि होइन । तै पनि चेकजाँच । बालेनलाई झोंक चलिहाल्यो, ‘अब सोमवार गाडी चलाउन पनि सिडिओको अनुमति लिनुपर्ने भयो ?’

ट्राफिकले भने, ‘लिनु पर्दैन हजुर । यो कागजपत्रको चेकजाँच होइन । अहिले त हामीले गापसे चेक गरिरहेको हो हजुर ।’
‘गापसे चेक रे ?, ’ बालेन छक्क, ‘मापसे चेक कि गापसे चेक ?’

ट्राफिकले भन्यो, ‘मापसे होइन सर, गापसे नै हो । आजचाहिँ हामी मापसेको सट्टा गापसे चेक गर्दैछौँ । यता फुऽ गर्नोस् त सर ।’
‘हैट् ! गापसे चेक त गराउँदिन म । मापसे चेक गर्ने भए गर्नोस्, गापसे त गर्दै गराउँदिन’ बालेनको अडान । 

‘होइन सर । अहिले त हामीले मापसे चेक गर्ने डिभाइस नै ल्याएका छैनौं । हामीसँग गापसे चेक गर्ने डिभाइस मात्रै छ । एक छिन त हो नि । फुऽ गर्नोस् न ।’
‘फुऽ त ज्यान गए नि गर्दिन । मेरो महानगरमा ट्राफिकको मनपरी ? कहिले मापसे चेकिङ भन्या छ, कहिले गापसे चेकिङ भन्या छ, कहिले कागजपत्र चेकिङ भन्या छ । तपाईंलाई जे मन लाग्यो त्यही चेकिङ गर्ने ? महानगरपालिकासँग समन्वय गर्नु पर्दैन ?’

‘ख्वै सर, पहिले पहिले त त्यस्तो गर्ने चलन थिएन ।’

‘चलन थिएन भने अहिले चलन बनाउने । बुझ्नुभयो ? ल म गएँ । तर जाँदाजाँदै भन्देको छु, आजदेखि हाम्रो महानगरपालिकाको कुनै पनि गाडीमा जे चेकिङ गरे पनि गापसेचाहिँ चेकिङ गर्न पाइँदैन । यदि चेकिङ गरियो भने अस्ति सिंहदरवार जलेर बाँकी भएको पार्ट पनि फेरि जलाइदिन्छु ।’ बालेन साह मुर्मुरिएर अगाडि बढे । 

चेकिङ गर्ने ट्राफिकले लामो सास ताने, ‘उफ् ! धन्न सिंहदरवार जलाएन । जलाएको भए मलाई कारवाही हुन्थ्यो होला ।’ 


 

टिप्पणीहरू