स्थानीय सरकारले दाहसंस्कारमा सहयोग गर्ने, नगर प्रहरीले घाटमै पुगेर सलामी दिने

स्थानीय सरकारले दाहसंस्कारमा सहयोग गर्ने, नगर प्रहरीले घाटमै पुगेर सलामी दिने

कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका विपन्न परिवारलाई मृत्युपछिको दाहसंस्कार खर्च दिने भएको छ । 

आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर उपमहानगरले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो । हिजो बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको कार्यपालिका सदस्य एवं वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए ।

‘आर्थिक अभावका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर पाँच हजार रुपैयाँ दिने निर्णय गरेका छौं । त्यसले दाउरा खरिदका लागि भएपनि सहयोग पुर्याउँछ’, उनले भने । आर्थिक सहयोग वडामार्फत दिइने उनको भनाइ छ । 

त्यस्तै, मृतक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको छ । यसका लागि नगर क्षेत्रभित्र कुनै व्यक्तिको मृत्यु भएमा उपमहानगरपालिकालाई जानकारी गराउनुपर्ने जनाइएको छ ।

टिप्पणीहरू