नारा लाउँदै हिँडेका केएमसीका स्वास्थ्यकर्मीलाई चक्रपथ प्रवेशमा रोक

नारा लाउँदै हिँडेका केएमसीका स्वास्थ्यकर्मीलाई चक्रपथ प्रवेशमा रोक

चिकित्सक कुटपिटको विरोधमा उत्रिएका स्वास्थ्यकर्मीहरुलाई प्रहरीले चक्रपथ प्रवेशमा रोक लगाएको छ । 

‘युथ फर नेशन’को अध्यक्षसमेत रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर निकोलश भुसालको नेतृत्वमा नाराबाजी गर्दै हिँडेका काठमाडौं मेडिकल कलेज (केएमसी) का डाक्टर,नर्सलगायत पाँच दर्जन स्वास्थ्यकर्मीलाई प्रहरीले चक्रपथतर्फ जाने क्रममा रोकेको हो । 

केएमसीको ओपिडीमा कार्यरत डा.मनिष खड्कामाथि सेवाग्राहीले आज दिउँसो हातपात गरेका थिए । मुटुको समस्या भएर परामर्श लिन आएका बिरामीका आफन्त र डा. खड्काबीच विवाद भएको थियो । बिरामीलाई समयमै जाँच नगरेको आरोप लगाउँदै उनलाई कुटपिट गरेका हुन् ।

  

प्रहरीले डाक्टरमाथि हात हाल्ने गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरिसकेको छ । हाल उनीहरु प्रहरी वृत्त, गौशालामा छन् । यता, स्वास्थ्यकर्मीहरु आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर सडकमा उत्रिएका छन् । 

उनीहरुले अस्पतालबाहिरको सडक अवरुद्ध गरेका छन् । ‘डाक्टर कुट्न पाइँदैन’,‘दोषीलाई कारबाही गर’,‘डाक्टर न्याय खोज्दै छ,प्रहरी प्रशासन घुर्दै छ’,‘सेतो कोटमा रातो दाग, डाक्टरहरु भागाभाग’, लगायतको प्लेकार्ड बोकेर उनीहरुले चर्को नाराबाजी गरिरहेका छन् । 

पछिल्लो केही समययता स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण भइरहेको छ । त्यसको विरोधमा आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच हिजो ६ बुँदे सहमति भएको थियो । सहमतिलगत्तै चिकित्सकले आन्दोलन फिर्ता लिएका थिए । आजको घटनापछि उनीहरु फेरि आन्दोलित बनेका छन् ।
 

टिप्पणीहरू