कोशी प्रदेशमा धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान

कोशी प्रदेशमा धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले आज दिउँसो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको निम्ति प्रदेश सभामा रहेका सदस्यहरुलाई आह्वान गरेका हुन् ।

अब उनीहरुले असोज २६ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्ने छ । जारी सूचनामा भनिएको छ, ‘मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीले मिति २०८०÷६÷२० गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८० असोज २६ गते शुक्रबार अपरान्ह ४ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नु भएको छ ।’

सर्वोच्च अदालतको परमादेशपछि कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । आज विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा उनले राजीनामा दिएका हुन् ।​​​​​​​ गतवर्ष पुस १७ गतेदेखि हालसम्म १० महिनाको अवधिमा कोशीमा पाँचौ पटक गठन नयाँ सरकार गठन हुन लागेको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

टिप्पणीहरू