‘सर्वसम्मत’ गुट

‘सर्वसम्मत’ गुट

गएको आम चुनावमा त केपी बा पार्टीगत हिसाबले हारेकै हो, अहिले आफ्नै पार्टी भित्र पनि धमाधम हार्दै जान थाल्नुभएको छ । विभिन्न प्रदेशमा हुँदै गरेका अधिवेशनहरूमा केपी बा एवं उहाँका ‘पुत्र’ हरु धमाधम हार्दै छन् ।

वास्तवमा केपी बाले आफ्ना मान्छेहरू यसरी हार्लान् भनेर नै त्यहाँ चुनाव नगरी ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न सुझाव दिँदै आउनुभएको थियो । तर सुझाव कसैले मानेनन् । किनभने सबैलाई थाहा थियो, ‘सर्वसम्मत’ गर्ने भनेकै ओलीको मान्छे राख्ने भनेको हो ।

त्यस्तो ‘सर्वसम्मत’ लाई कसैले मानेन । ओलीका मान्छेहरू फेरि यस्ता थिए जो ‘सर्वसम्मत’ भए मात्रै जित्ने, चुनाव भए हार्ने । ओलीको नारा थियो– चुनाव भएमा पार्टीभित्र गुट जन्मन्छ, त्यसैले चुनाव हुन्न, सर्वसम्मत चाहिन्छ । 

तर उहाँका कार्यकर्ताहरू चकित छन् । जुन नेताले मदन भण्डारी फाउण्डेशनका नाममा एमालेभित्र जीवनभर गुट बनाएर नेतृत्वलाई आच्छु आच्छु पारे, आज उही नेताले गुटको विरोध गरिरहेका छन् । गुटले कस्तो शक्ति आर्जन हुन्छ भन्ने शिक्षा त ओली आफैंले दिनुभएको होइन र ? अनि उहाँका कार्यकर्ता गुट नबनाई बस्न सक्छन् ? 

वास्तवमा सर्वसम्मतको नाममा ओली आफै पनि पार्टीभित्र ‘सर्वसम्मत गुट’ बनाउन उद्यत हुनुहुन्थ्यो । अब त्यो सम्भव भएन । शायद अध्यक्ष ओलीलाई अब त चेतना भयो होला, आफू कुन गुटमा छु भन्ने कुरा ।

टिप्पणीहरू