मुख्यमन्त्रीका दाबीकर्तालाई समर्थन गरेका सांसदहरुको दस्तखत सनाखत गरिने
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका सांसदहरुको सनाखत गराएरमात्रै मुख्यमन्त्री नियुक्ति गर्ने घोषणा गरेका हुन् ।
सांसदहरुलाई भोलि बिहान ८ बजेदेखि दिँउसो २ बजेसम्म आफ्नो परिचय पत्र ल्याएर प्रदेश प्रमुखको कार्यालयको सभाहलमा हस्ताक्षर सनाखत गर्न भनिएको छ ।
मुख्यमन्त्रीमा दाबी गरेका सांसद ईन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७–४७ जनाको समर्थन रहेको हस्ताक्षरसहितको दाबी पेश गरेकाले सनाखत गर्न लागिएको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि आज अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरेका थिए ।
उक्त समयसीमामा कांग्रेससमेतको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बो र कांग्रेसबाट बिद्रोह गरेका कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
टिप्पणीहरू