अरुको खोस्ने, आफ्नोचाहिँ राख्ने ?

अरुको खोस्ने, आफ्नोचाहिँ राख्ने ?

भूतपूर्व मन्त्री, उच्चपदस्थ नेता र कर्मचारी तथा प्रहरी र सशस्त्रका हाकिमले राखेका सुरक्षाकर्मी र सरकारी सुविधा खोस्ने एक महिने भूतपूर्व तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सिद्धान्त र व्यवहारमा डरलाग्दो भिन्नता देखिएको छ ।

लामिछानेले गृहमन्त्रीबाट हटे पनि अहिलेसम्म पछुवा लिएर हिँड्ने गरेका छन् भने सुरक्षा थ्रेट हुन सक्ने पिएसओसहितका सुरक्षाकर्मीको सुविधा उपभोग गरेको अवस्था छ । अर्कोतर्फ नेता तथा भिआइपीहरूले आफै कार्यविधि बनाएर सुविधा लिने चलनका कारण सुरक्षाकर्मीहरूले देशको भन्दा यस्ता मान्छेको सेवामा खटिनुपर्ने बाध्यता छ । नेपालमा एकपल्ट मन्त्री तथा भिआइपी पोष्टमा पुगेपछि गाडी र सुरक्षाकर्मी छाड्ने स्वयंसेवीको अभाव छ । यसै नियमलाई टेकेर अरुले सुविधा उपभोग गरेको बेला खोस्ने लामिछानेले आफ्नै निर्णयको धज्जी उडाउनु आकस्मिक संयोग मात्र त हुनै सक्दैन ।

त्यसो त प्रधानन्यायाधीश र न्यायाधीशहरू, गभर्नर र डेपुटी गभर्नर, प्रधानसेनापतिलगायतले कार्यकाल समाप्त भई निवृत्त जीवन बिताउन जाँदा चढेको गाडी र सुरक्षाकर्मी लाने गरेका छन् । यसले राज्यमाथि व्ययभार थप्नुको साथै अनावश्यक तवरले सुरक्षा प्रणालीमाथि दबाव सिर्जना हुने गरेको छ । यस्तै पारा हो भने नेपालका सुरक्षाकर्मीहरू अपराध नियन्त्रणमा भन्दा बढी नेता र भिआइपीको सुरक्षामा खटिने दिन नआउला भन्न नसकिने अवस्था छ ।

अहिले भूतपूर्व राजा, राष्ट्रपति र उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री अनि संवैधानिक अंगमा बसिसकेका सबै जसोले यस्तो सुविधा उपभोग गर्दै आएका छन् ।

टिप्पणीहरू