सभापति देउवा र अध्यक्ष नेपालद्वारा प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

सभापति देउवा र अध्यक्ष नेपालद्वारा प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
सुन्नुहोस्

नेपाली कांग्रेसले भूकम्प प्रभावितका लागि घोषणा गरेको नगद प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरेको हो । त्यसक्रममा काँग्रेसले भूकम्पपछिको उद्दार,राहत,पुनर्स्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझावसमेत पेश गरेको छ । 

काँग्रेसले भूकम्पपछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा गरेको छ । त्यस्तै,राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन,अस्थायी आवासको व्यवस्था, उद्दार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण हुनुपर्ने कांग्रेसको सुझाव छ । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा अघि बढाउने बताउनुभयो । भन्नुभयो, ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरुले काम शुरु गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यबारे छलफल भएको बताउनुभयो । उहाँले नेपालीहरुमा संकटको बेला एकै ठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपदमा झैं यसपटक पनि सबै एकजुट भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

आजै नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेका हुन् ।
 

टिप्पणीहरू