पूर्वउपराष्ट्रपतिको किताब बालुवाटारमा सार्वजनिक
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्रीले पूर्वउपराष्ट्रपति पुनको इमान्दारिता र सरलता ’यात्रा जिन्दगी’ मा प्रतिबिम्बित भएको बताउनुभयो । पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल नखाए पनि पुनले आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गरेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
‘म अढाइ वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसें । मैले पासाङजीलाई एकदमै नजिकबाट चिनेको छु । उहाँ छलकपटरहित, सोझो, इमानदार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व हुनुहुन्छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उहाँले पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै शंका गर्नुभएन । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही गर्नुभएन । जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि मेरो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता उहाँ हो ।’
उपराष्ट्रपति भइसकेपछि पनि पुनमा शालिनता र जिम्मेवारीबोध देखिएको बताउँदै प्रधानमन्त्रीले अगाडि भन्नुभयो, ‘उहाँलाई उपराष्ट्रपतिमा मैले नै प्रस्ताव गरेको थिएँ । त्यो दिन म अत्यन्तै खुशी थिएँ । उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो । उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुश्किल पर्छ ।’
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोहका रुपमा जनयुद्धको व्याख्या गर्नुभएको थियो । त्याग र बलिदानको कीर्तिमान एवम् मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वतीय रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
टिप्पणीहरू