कटारीका मेयरलाई स्थानीयको प्रश्न : दुई वटा वडाका मात्रै स्थानीय हुन् ?
कुनै बेला मिनी धरानका रूपमा परिचित उदयपुरको कटारीले लगभग आफ्नो साख गुमाइसकेको छ । यसरी साख गुमाउँदै जानुमा स्थानीय जनप्रतिनिधि मुख्य कारण भएको आरोप लागेको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै ज्ञानेन्द्र श्रेष्ठ (काजी) कटारी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । सिर्जनशील क्षमता नभएका एमालेका काजीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका पनि उस्तै खालका राजेश श्रेष्ठ कटारीको मेयरमा पछिल्लो पटक निर्वाचित भएका हुन् ।
यसबीचमा कटारीका मेयर राजेश श्रेष्ठले नगरबासीमाथि भेदभाव गरेको आरोप लागेको छ । ट्रिपर चल्दा उड्ने धुँवा र धुलोका कारण कटारीको वडा नम्बर ३ र ४ को बजार क्षेत्रलगायत अन्तका पनि प्रभावित भएका छन् ।
तर, बजार क्षेत्रमा मात्र ट्रिपर चलाउन रोक लगाएपछि मेयर श्रेष्ठले अन्य वडाका जनतालाई वेबास्ता गरेको गुनासो बढ्दै गएको हो । ‘वडा नम्बर ३ र ४ का जनता चाँही धुलोले रोगी बन्ने । अनि अन्य वडावासीको स्वास्थ्यमा चाँहि ती ट्रिपरको धुलो, धुँवाले केही असर नगर्ने ?,’ सिमानपुरका युवाकुमार बुढाथोकीले भने ।
दैनिक छ सय ट्रिपर सिद्धिचरण मार्गबाट सगरमाथा राजमार्गमा परिणत भएको मिर्चैया कटारी सडक खण्डमा चल्छन् । सौर्य, मारुती र तेज सिमेन्टका चुनढुंगा बोक्नका लागि ती ट्रिपर प्रयोग हुन्छन् ।
जीर्ण बन्दै गएको सगरमाथा राजमार्गमा १० टन क्षमताका तीन वटा सिमेन्ट फ्याक्ट्रीका ट्रिपर ३४ देखि ४० टनसम्म बोकेर गुड्दा त्यहाँका स्थानीयको जनजीवन र स्वास्थ्यमा प्रतिकूल असर परेको आरोप लागेको हो ।
टिप्पणीहरू