महंगीको विरोधमा एमाले, नागरिक मुक्तिका लागि दुर्गा प्रसाईंंको निम्तो
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी बिहीबार शक्ति प्रदर्शन गर्ने भएका छन् । युवा संघ र प्रसाईंको बृहत नागरिक मुक्ति आन्दोलनले एकै दिन राजधानीको माइतीघर केन्द्रित आन्दोलन गर्न लागेका हुन् ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाईमा संघका कार्यकर्ताले राजधानीमा प्रसाईंलाई कालोमोसो दलेपछि बढेको तिक्ततापछि मंसिर ७ गतेको विरोध कार्यक्रम तय भएको हो । युवा संघले भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्धको जनप्रदर्शन भनेको छ ।
प्रसाईंले बृहत नागरिक मुक्ति आन्दोलन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा संलग्न भएको बताएका छन् ।
कार्यक्रमअघि एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसेको छ । बैठकलगत्तै संघले भ्रष्टाचार, अनियमितता, अराजकता, राज्यको अकर्मण्यता, माफियागिरी र आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको बैठकमा पछिल्लो राजनीतिक गतिविधि र संघको आगामी प्रदर्शनका बारेमा छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू