सरकारले आन्दोलन दबाउन सक्ने भन्दै दुर्गा प्रसाईंले अन्तराष्ट्रिय समुदाय गुहारे

सरकारले आन्दोलन दबाउन सक्ने भन्दै दुर्गा प्रसाईंले अन्तराष्ट्रिय समुदाय गुहारे
सुन्नुहोस्

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको आन्दोलनमा सरकारबाट दमन हुने सक्ने बताएका छन् । 

राजसंस्था पुनःस्थापना गर्ने नाममा बैंकको ऋण मिनाहा गराउने अभियान चलाइरहेका उनले आन्दोलन दबाउन सरकारले आन्दोलनकारीहरुमाथि दमन गर्न सक्ने आशंका गरेका हुन् । 

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ ले आन्दोलनका क्रममा हुन सक्ने मानव अधिकार उल्लङ्घनका गतिविधिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निगरानी राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।  

‘आम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग तथा नेपालस्थित पर्यवेक्षकहरु, नेपालस्थित वैदेशिक कुटनीतिक नियोगहरु नागरिक समाजहरुलाई उक्त आन्दोलनका क्रममा हुन सक्ने मानव अधिकार उल्लङ्घनका गतिविधिहरुलाई प्रत्यक्ष निगरानी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सत्यतथ्य जानकारी गराई दिनुहुन हार्दिक अपिलसहित अनुरोध गर्दछौं’, आज जारी सार्वजनिक अपिलमा उल्लेख छ । 

त्यस्तै, अभियानले आन्दोलनमा सहभागिता जनाउन व्यापारी, उद्योगपति, मजदुर, यातायात व्यवसायी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सेना, विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु, संगितकर्मी, कलाकार, पत्रकार, विभिन्न पेशागत संघ–संगठनलगायतलाई आह्वान गरेको छ । 

आगामी बिहीबार प्रसाईंले देशभरबाट मान्छे बटुलेर काठमाडौंमा ठूलो शक्ति प्रदर्शनको तयारी गरेका छन् भने नेकपा एमालेका पोलिब्युरो सदस्य महेश बस्नेतको अगुवाईमा राष्ट्रिय युवासंघले माइतीघर मण्डलामा युवा उतार्ने घोषणा गरेको छ । पछिल्लो समय टकराई रहेका यी दुई समूह एकैदिन सडकमा उत्रिन लागेपछि काठमाडौँमा सुरक्षा चुनौती थपिएको सरकारको ठहर छ ।

 

टिप्पणीहरू