माओवादी र समाजवादीबीच एकता वार्ता सम्पन्न
माओवादी केन्द्रको हसियाँ हथौडा लिएर चुनाव लडेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पूर्वसहमतिअनुसार एकीकरणका लागि तयार भएको छ ।
आज सम्पन्न एकता संयोजन समितिको बैठकले एकीकरण प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको हो । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा भएको वार्ताले यसअघि भएको सहमतिका आधारमा एकताका लागि दुबै पार्टी नेतृत्वलाई सुझाव दिने इर्न्य गरेको जनाइएको छ ।
वार्तापछि दुबै पार्टीको एकता संयोजन समितिले संयुक्त विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो । माओवादी केन्द्रका तर्फबाट संयोजन समितिका संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महरा र नेपाल समाजवादीका गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा एकता संयोजन समितिले सहमति गरेअनुसार अगाडि बढ्ने उल्लेख छ ।
यी दुई दलबीच चुनावअघि नै एकता गर्ने सहमति थियो । तर, बाबुरामको केही विमतिका कारण एकता प्रक्रिया अघि बढ्न सकेको छैन । बताइएअनुसार शक्तिशाली विकास प्राधिकरण गठन गरेर बाबुरामलाई त्यसको जिम्मा दिने चुनावअघिको सहमति प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डकै कारण कार्यान्वयन नभएको भन्दै रुष्टिएका बाबुराम एकताबाट टाढिएका हुन् ।
त्यसो त, माओवादीसँग एकतालाई लिएर नेसपामा नेताहरु विभाजित रहेको बताइन्छ । अध्यक्ष डा. बाबुराम एकताको विपक्षमा रहँदा अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष श्रेष्ठसहितको ठूलोपंति भने पूर्वसहमति अनुसार नै जानुपर्ने अडानमा रहँदै आएको छ । आजको बैठक पनि सोही पक्षको जोडबलमा बसेको बताइएको छ ।
टिप्पणीहरू