राजधानीका २२ स्थान संवेदनशील, झण्डै पाँच हजार सुरक्षाकर्मी परिचालनको तयारी
दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूह र नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवासंघले पर्सि काठमाडौँमा गर्न लागेको बिरोध प्रदर्शनका क्रममा हुनसक्ने अराजक गतिविधि नियन्त्रण गर्न एकीकृत विशेष सुरक्षा योजना पारित भएको छ ।
आज बसेको काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गर्दै कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । पछिल्लो समय विकसित परिस्थिति र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सम्भावित आपराधिक घटना, अराजकता तथा उच्छृंखल हर्कतका साथै रात्रिकालीन समयमा हुनसक्ने आपराधका सम्बन्धमा सूचना संकलन एवम् सुक्ष्म विश्लेषण गरि त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले समन्वयात्मक रुपमा सबै क्षेत्र समेट्दै गस्ती, पेट्रोलिङ र चेकजाँचलाई सघनरुपमा परिचालन गर्ने एकीकृत विशेष सुरक्षा योजना पारित गरेको बैठकको निर्णयमा उल्लेख छ ।
बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषणात्मक समीक्षा गर्दै आजसम्मको स्थिति सामान्य रहेको निष्कर्ष निकालिएको छ । सुरक्षा समितिले प्रसाईं नेतृत्वको ’राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’ र युवासंघ दुबै समूहलाई तोकिएका विकल्पमध्ये उनीहरुले रोजेबमोजिम बल्खु चोक र तीनकुनेमा कार्यक्रमस्थल तोकिएको हुँदा सोही मुताबिक उपत्यकालगायत अन्य जिल्लासँग समेत समन्वय गरेर सुरक्षा प्रबन्ध भरपर्दो र त्रुटीरहित बनाउन सुरक्षा निकायलाई खटाउने निर्णय पनि गरेको छ ।
काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्री, सहायक अनुसन्धान निर्देशक विकास पाण्डे, नरसिंह दल गणका प्रमुख सेनानी प्रमोद कुमार शर्मा, सस्शत्र प्रहरी २० नम्बर गण सिनामंगलका एसपी पूर्णबहादुर साउद, १८ नम्बर गण कीर्तिपुरका एसपी उद्धव बहादुर रावल र सहायक सिडिओ रविन्द्र प्रसाद आचार्य सहभागी थिए ।
आपसमा टकराइरहेका यी दुई समूह पर्सि राजधानीमा आमनेसामने हुनसक्ने भएकाले प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न २२ स्थानलाई संवेदनशील क्षेत्र तोक्दै ठूलो संख्यामा प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।
प्रहरीले ठहर गरेको संवेदनशील स्थानमा माइतीघर मण्डला, भद्रकाली, पद्मोदय मोड, हनुमानस्थान, बिजुली बजार पुल, बानेश्वर चोक, मीनभवन, बल्खु, नारायणगोपाल चोक, सुन्धारा, लैनचौर मोड, बालाजु पुल, वीर अस्पताल, चाबहिल, कलंकी, खसी बजारको भाटभटेनी अगाडि, संग्रहालय गेटलगायत छन् । नक्साल नारायण चौर र बालाजु माछापोखरी पनि संवेदनशील स्थानमा परेपछि पर्सिको निम्ति संवेदनशील स्थान २२ पुगेको हो ।
त्यो दिन दुई–दुई हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा पाँच सय राष्ट्रिय अनुसन्धान विभागका गरेर ४५ सय सुरक्षाकर्मी खटाउने सरकारको तयारी छ ।
टिप्पणीहरू