रातिदेखि सरकार परिवर्तनमा लाग्ने काँग्रेस सांसदको उद्घोष

रातिदेखि सरकार परिवर्तनमा लाग्ने काँग्रेस सांसदको उद्घोष

विवादास्पद मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफू आज रातिबाटै बाग्मती प्रदेश र संघीय सरकार परिवर्तनमा लाग्ने बताएका छन् ।

सिंगापुरबाट आज नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही पत्रकार बोलाएर सो भनाई राखेका हुन् । नक्कली सर्टिफिकेट काण्डमा पक्राउ परेपछि आफ्नै पार्टी सम्मिलित गठबन्धन सरकारको चर्को आलोचना गर्दै आएका काँग्रेस संस्थापन इतर खेमाका नेतासमेत रहेका उनले शान्तिपूर्ण जनविद्रोह आवश्यक रहेको बताएका छन् । 

मुलुकको हालको व्यवस्था डेमोक्रयाटिक रहेकाले त्यसको विकल्प नभए पनि नेताहरुका कारण जनविद्रोह आवश्यक रहेको सांसद शर्माको तर्क छ । यो अवस्था अन्त्यका लागि आफूले सदनबाट पनि आवाज उठाइरहेको उनले सुनाए ।

‘नेपाली जनतालाई लुटेर विदेशमा पैसा राख्ने तानाशाहवादको अन्त्य हुनुपर्छ’, शर्माले भने । सिङ्गापुर एयरलाइन्सको उडान नम्बर एसक्यु–४४० मा दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनले २ देखि साढे २ बजेसम्म आफ्ना कुरा राखेका थिए ।

टिप्पणीहरू