मध्यरातमा महिला लखेटिएको घटनामा महेश बस्नेतको प्रतिक्रिया - खुल्ला दिसा-पिसाब गराउने हर्कत स्थानीयले रोकेका हुन्

मध्यरातमा महिला लखेटिएको घटनामा महेश बस्नेतको प्रतिक्रिया - खुल्ला दिसा-पिसाब गराउने हर्कत स्थानीयले रोकेका हुन्

दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका महिलाहरुलाई मध्यराति सुतेकै ठाउँबाट लखेटिएको घटनामा नेकपा एमालेका नेता महेश बस्नेतले युवासंघको संलग्नता अस्वीकार गरेका छन् । 

युवासंघका कार्यकर्ताले अमानवीय तवरले ओछ्यानबाटै महिलाहरुलाई लखेटेर लोकतन्त्रमा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकार हनन् गरेको भन्दै सर्वत्र आलोचना भैरहेका बेला सो संगठनका इञ्चार्जसमेत रहेका उनको यस्तो प्रतिक्रिया आएको हो । ति महिलालाई कुनै दल र व्यक्तिविरुद्ध परिचालन गरिएकाले स्थानीयले प्रतिकार गरेको बस्नेतको दावी छ ।   

सामाजिक सञ्जाल फेसबुकबाट बस्नेतले भनेका छन्, 'दुर्गा प्रसाँई जस्ता अपराधिक ब्यक्तिले सर्बसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौँमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो  क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ ।'

बस्नेतले ति महिलाहरुलाई प्रहरीको समन्वयमा युवासंघकै कार्य्याकर्ताले बास बस्ने व्यवस्था मिलाएको पनि दावी गरेका छन् । तर, सार्वजनिक भएको एउटा भिडियोमा बोलिएका संवादले भने घटनामा युवासंघका कार्यकर्ताको संलग्नता पुष्टि हुन्छ । 

प्रसाईं नेतृत्वको 'नागरिक बचाउ अभियान'ले भोलि काठमाडौँमा बृहत जनप्रदर्शन गर्दैछ । त्यसका लागि उपत्यका बाहिरबाट ठूलो संख्यामा मानिसहरु काठमाडौँ आइरहेका छन् । सोहीक्रममा आएका ति महिलाहरुलाई भक्तपुरको एक पार्टी प्यालेसमा राखिएको थियो । 

सार्वजनिक भएको भिडियोमा मध्यराति सुत्ने तरखर गरिरहेका उनीहरुलाई त्यहाँ पुगेका केही युवाहरुले प्रसाईंको भेलाका लागि आएको भन्दै लखेटेको देखिन्छ । एकजना पुरुषले भन्छन्, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर ।’ उनैले फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन?’ 

महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गर्दै एकरात मात्रै बस्न दिन आग्रह गरिरहेको भिडियोमा देखिन्छ । 

केही महिनाअघिसम्म एमालेको केन्द्रीय सदस्य रहका प्रसाईं र बस्नेतबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ । राजसंस्था पुनर्स्थपना र बैंकको ऋण मिनाहा अभियान चलाइरहेका प्रसाईंको आन्दोलनलाई चुनौती दिन मङ्सिर ७ गते युवासंघले पनि काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

 

टिप्पणीहरू