प्रसाईंले तीनकुने नछाड्ने, गेरु वस्त्रधारीलाई अघि लाउँदै जुलुस निकाल्ने
स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै दुर्गा प्रसाईं नेतृत्वको समूहले भोलि कोटेश्वर, तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।
प्रसाईं संयोजक रहेको ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले विज्ञप्ति जारी गरेर भोलि तीनकुनेमा भेला हुने जानकारी गराएको हो । काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानबाट जुलुस निकालेर तीनकुनेमा एकीकृत भई प्रदर्शन गर्ने सो समूहका प्रवक्ता राजानन्द मान्डव्यले जानकारी दिए ।
उनका अनुसार भक्तपुर क्षेत्र र साँगा नाका हुँदै उपत्यका छिर्नेहरु बिहान साढे १० बजे सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुला चौरमा भेला भई गठ्ठाघर, लोकन्थली, जडिबुटी, कोटेश्वर हुँदै तीनकुने पुग्नेगरी रुट तय गरिएको छ ।
त्यस्तै, महाराजगञ्ज, गोंगबु, बूढानीलकण्ठ, टोखा, बालाजु, र बौद्धबाट आउने प्रदर्शनकारीहरु साढे १० बजे चाबहिल चोकमा जम्मा हुनेछन् । उनीहरु गौशाला, तिलगंगा, एयरपोर्ट, सिनामंगल हुँदै मूल प्रदर्शनस्थलमा मिसिने छन् ।
यता, स्वयम्भू, सीतापाइला, रामकोट, कलंकी, थानकोट, नैकाप, पाटन, जावलाखेल क्षेत्रका आन्दोलनकारी थापाथलीमा एकजुट भएर नर्भिक, यूएन पार्क हुँदै बागमती किनारको बाटो तीनकुने पुग्ने छन् ।
त्यस्तै, सातदोबाटो, इमाडोल, लुभु, गोदावरी, कीर्तिपुर तर्फबाट प्रदर्शनमा आउनेहरु बालकुमारी चोकमा भेला भई कोटेश्वर हुँदै आन्दोलनस्थल पुग्ने रुट निर्धारण गरेको बताइएको छ ।
जुलुसमा धार्मिक तथा राष्ट्रिय झण्डा बाहेकका अन्य झण्डा प्रयोगमा निषेध गरिएको छ । र्यालीको अग्रभागमा धार्मिक गुरु, ओमकार परिवार, नाथलगायतका हिन्दुवादीहरु रहने पनि सो समूहले बताएको छ ।
राजतन्त्र पुनःस्थापना र बैंकको ऋण मिनाहा अभियानअन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको प्रसाईं समूहले हिजो बल्खुमा प्रदर्शन गरेको थियो । आज तीनकुनेमा प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । तर, हिजो बल्खुमा उग्र बनेका प्रदर्शकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सम्भावित खतरालाई मध्यनजर गर्दै प्रशासनले तीनकुनेमा आज रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गर्दै तीनकुने क्षेत्रमा भेला नहुन आग्रह गरेको थियो । तर, प्रसाईं समूहका कार्यकर्ता जबर्जस्ती प्रदर्शन गर्न त्यहाँ पुगेपछि प्रहरीले आज दर्जनौंलाई नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू