राजा आऊ, मलाई बचाऊ

राजा आऊ, मलाई बचाऊ

राजावादीहरू यतिबेला अलि बढी नै राजा आऊ देश बचाऊ भन्न थालेका छन् । त्यसो त राजावादीको मूल नारा पनि योभन्दा बढी छैन । राजा आऊ, देश बचाऊ ।

बस् । अहिले त प्रचण्ड र ओलीका पूर्वकार्यकर्ता दुर्गा प्रसाईंसमेत राजा आऊ देश बचाऊ भन्दै कुर्लन थालिसकेका छन् । तर, अहिले हेर्दा यस्तो लाग्छ, दुर्गा प्रसाईंले राजा आऊ भनेको वास्तवमा देश बचाऊ भन्नलाई होइन ।

उनले देशलाई होइन, आफैँलाई बचाऊ भन्न पो राजा आऊ भनिरहेका रहेछन् । उनले कुन बैंकबाट कति कर्जा लिएका छन् त्यसको सूची हालै सार्वजनिक भएको छ । नेपालमा कुनै पनि त्यस्तो बैंक छैन जहाँ दुर्गा प्रसाईंले लोन लिएको नहोस् । यदि दुर्गा प्रसाईंले लोन लिएको छैन भने त्यो बैंक त बैंक नै होइन । लोन लिइसकेपछि तिर्न सकिरहेको छैन । त्यो लोनबाट आफूलाई बचाऊ भनी उनी प्रचण्डकोमा गए । बचाउन सकेन । ओलीकोमा गए । बचाउन सकेन । अन्तिममा राजाकोमा गएका छन् । देशलाई बचाउन होइन, बैंकबाट आफूलाई बचाउन । 

त्यसो त अहिले जति पनि राजा आऊ देश बचाऊ भनिरहेका छन्, ती सबै देशलाई होइन आफैँलाई बचाउन राजा आऊ भनिरहेका हुन् । जस्तो राप्रपाका नेता रविन्द्र मिश्रलाई हेर्नोस् । पत्रकारिता छाडेर राजनीतिमा आएपछि बिचरा नराम्ररी डुबेका छन् । दुइटा पार्टीमा लाग्दा पनि केही नभएपछि उनी राजा आऊ भन्न थालेका छन् । त्यस्तै कमल थापा पनि एकताका राजाको विरोध गर्दै पाखा लागेका थिए ।

तर, एमालेको टिकट लिएर पनि चुनाव जित्न नसकेपछि उनी पनि राजा आऊ भन्न थालेका छन् । राजा आएर देशलाई बचाउन सक्ला नसक्ला भन्न सकिन्न । आफूलाई चाहिँ बचाइदेला कि भन्ने उनीहरूको आश होला । होइन र ?
 

टिप्पणीहरू