एसएलसी टपर जब नेपालमा थुनिए

एसएलसी टपर जब नेपालमा थुनिए
सुन्नुहोस्

चर्चित उखानै छ, ‘सरकारी काम, कहिले जाला घाम !’ नेपालका निजामती कर्मचारीको काम गर्ने प्रवृत्ति यही उखानसँग ठ्याक्कै मिल्दोजुल्दो छ । जिल्ला प्रशासन, मालपोत, नापी, यातायात, श्रम  कार्यालयमा सामान्य काम गर्न लामै समय छुट्याउनुपर्ने बाध्यता हटेकै छैन । 

यस्तै मेलोमेसोबीच सेवा प्रवाहमा चित्त नबुझेर गुनासो गर्दा दशकौँदेखि विदेशमा सेवारत एक जना चिकित्सकले नचिताएको घटना सामना गर्नुपरेको छ । एसएलसीको बोर्ड टपरसमेत रहिसकेका ती डाक्टर पारस शर्मा गैरआवासीय नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गएका बखत बेलायतकै जस्तो सुलभ सेवासुविधा लिन खोज्दा भनाभन भएपछि कर्मचारीद्वारा अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा  थुनाइएका हुन् । 

लण्डनको एउटा नामी बाल अस्पतालका डाक्टर उनले सेवा चित्तबुझ्दो नभएको भनी असन्तुष्टि जनाउँदा थुनिएको दिन अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते मंगलबार हो, एनआरएनलाई दिन थालिएको नागरिकता लिन सिडिओ कार्यालय, बबरमहलले दिउँसो २ बजे बोलाएको हुनाले उनी समयमै त्यहाँ पुग्दा सेवाग्राहीको चाप ठीकै थियो । 

कर्मचारी पनि फुर्सदिला नै थिए । उनले आफ्नो काम बेलैमा सकाइदिन कर्मचारीलाई आग्रह गरे तर पछि आउनू भन्ने जवाफ पाए । उक्त कुरा चित्त नबुझेपछि गुनासो राखिहाले । त्यसपछि त्यहाँ भनाभनको अवस्था सिर्जना भयो । 

‘बेलायती सिष्टममा बसेर आएको, त्यहीमाथि नामी डाक्टर । के चुप लाग्थे ! धेरै वर्षपछि नेपाल आएकाले यहाँको सिष्टम फेरियो होला भन्ठानेका रहेछन् तर ठ्याक्कै उल्टो पाए । २ बजे पुगेको मान्छेलाई कर्मचारीले साढे ४ बजे आउनू भनिदिए । उनलाई चित्त बुझेन । अनि डिस्कस भएछ’, स्रोतले भन्यो । 

सो विषयलाई लिएर एकछिन हंगामा मच्चिएको र ठूलो स्वरमा हप्काएको भन्दै कर्मचारीले कार्यालयमा खटिएका प्रहरी बोलाएर डा. शर्मालाई समात्न लगाएको बुझिएको छ । ०३६ सालमा एसएलसी दिएका उनी बोर्ड फोर्थ हुन् । भारतबाट एमबिबिएस र एमडी गरेका छन् । स–परिवार बेलायतमा बस्दै आएका उनको त्यहाँ बाल अस्पतालमा राम्रो जागिर छ । 

विदेशमा बसेर समयको ख्याल गर्न सिकेका उनले यहाँ पनि उस्तै कार्यशैली र व्यवहारप्रति गुनासो गर्नु स्वाभाविकै हो । तर, प्रस्तुति नम्र हुन नसक्दा उनी मात्र नभई पूरै परिवारले दुःख पाउनुपर्‍याे । प्रहरीले लगेपछि श्रीमती र छोराछोरीको बेहाल भयो । 

सिडिओ कार्यालयमै रुवाबासी चल्यो । चारतिर कुरा पुगेपछि प्रहरीले डा. शर्मालाई दुई घण्टा थुनेर छोडेको स्रोतले बतायो । छोराछोरीलाई नेपाल घुमाउन ल्याएका उनी उक्त घटनापछि हन्हन्ती ज्वरो आएर थलिएका छन् । 

‘बुवाले आफ्नो जन्मभूमि हेरुन् भनेर छोराछोरीलाई ल्याएको, उक्त घटनाले गर्दा छोराछोरीलाई भने कहिल्यै नेपाल नफर्किऊँजस्तो भयो’, स्रोतले भन्यो । 

यता, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले यस घटनाबारे केही जानकारी नभएको दाबी गरे । कर्मचारीलाई सेवा प्रवाहमा असहजता भएकाले सो घटना घटेको हुनसक्ने उनी बताउँछन् । सेवाग्राहीले अभद्र व्यवहार गरेमा मात्रै प्रहरी बोलाउने गरिएको उनको भनाइ छ । 

‘प्रशासनमा जतिबेला पनि सेवाग्राहीको चाप हुन्छ । नागरिकता, राहदानीलगायत कामका लागि छुट्टाछुट्टै डेस्क छ । सेवा नदिने भन्ने कुरा हुँदैन ।

चाप भएकाले सेवाग्राहीलाई होल्डमा राखिएको हुन सक्छ । खाजा खान पनि आलोपालोको सिष्टम मिलाइएको छ । हल्लाखल्ला ग¥यो, कर्मचारीमाथि अभद्र व्यवहार गर्‍याे भने मात्र प्रहरी बोलाउँछौँ । उहाँलाई त्यस्तो कुनै विषयमा चित्त नबुझेको भए हामीलाई गुनासो गर्न सक्नुहुन्थ्यो,’ उनले भने ।

टिप्पणीहरू