बर्खास्ती र राजीनामा सँगसँगै
राजीनामा कि बर्खास्ती ? मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै मुख्य न्यायाधिवक्ताको पद गुमाएका सुरेन्द्रकुमार महतोको प्रसंगमा उब्जिएको प्रश्न हो यो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मुख्य न्यायाधिवक्ता महतोलाई हिजो प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदमुक्त गरेका थिए । तर,उनले बर्खास्तीसँगै राजीनामा दिएको पनि पाइएको छ । नयाँ सरकारलाई सहयोग पुर्याउन मार्ग प्रशस्त गरिदिएको महतोको भनाइ छ ।
राजीनामा पत्रमा उल्लेख छ, ‘मधेश प्रदेशमा सरकार परिवर्तन भई माननीय कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएकोले परिवर्तित परिप्रेक्ष्यमा नयाँ सरकारलाई आफ्नै अनुकूलतामा सरकार सञ्चालनमा सहजता प्रदान गर्न मैले मार्ग प्रशस्त गर्ने उद्देश्यले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएको छु ।’
यता,प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा महतोलाई संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आइतबारबाटै लागु हुनेगरी मुख्य न्यायाधिवक्ताबाट पदमुक्त गरिएको जनाइएको छ ।
भनिएको छ,‘मधेश प्रदेशका माननीय प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम मिति २०८१–०८–२१ गतेदेखि लागु हुनेगरी मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गर्नुभएको छ ।’
महतोलाई ०८१ जेठ ३१ गते तत्कालिन मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री यादवले हिजो पद तथा गोपनीयताको शपथ लिएलगत्तै मुख्य न्यायाधिवक्ता महतोलाई पदमुक्त गर्न सिफारिस गरेका थिए ।

टिप्पणीहरू