जवजको ‘अपव्याख्या’ गरेका ओलीको वरपर ‘भजनमण्डली’

जवजको ‘अपव्याख्या’ गरेका ओलीको वरपर ‘भजनमण्डली’

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) को अपव्याख्या गर्दै आएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेताहरूले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओलीले जबजको नाममा पार्टी कब्जा गर्ने प्रवृत्ति देखाएको दाबी गरे ।

पाण्डेका अनुसार ओलीको सोही प्रवृत्तिका कारण पार्टी जनतामाझ दिनदिनै साँघुरिँदै गइरहेको अवस्थामा पुगेको छ। उनले भने, ‘पार्टीमा दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था अनिवार्य गरिए धेरै समस्या समाधान हुन्छ । उहाँले भन्ने गरेको जबजबारे कसैलाई थाहा छैन र ? माथिबाट नाम पेश गर्ने र अघि बढाउनेलाई जवज भन्न मिल्छ? त्यही नै जवज हो?’

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि अध्यक्ष ओली सामूहिक नेतृत्वबाट पछि हटेको आरोप लगाए। ‘सामूहिक नेतृत्व उन्नत लोकतन्त्रको मूल आधार हो। तर हाम्रो पार्टीमा सामूहिक नेतृत्व नचली नेता–प्रधान व्यवस्था चलाइयो,’ उनले प्रश्न उठाए, ‘मेचीदेखि महाकालीसम्म यति ठूलो विरोध किन भयो? कमजोरी त सच्याउनुपर्‍यो नि!’

त्यस्तै स्थायी समिति सदस्य कर्ण थापाले पनि ओलीकै कारण एमाले ‘भजनमण्डली’ जस्तो बनेको टिप्पणी गरे। ‘उहाँकै कारण पार्टी टुकुडीजस्तो बन्यो, भजनमण्डली बनाएर त्यसमै रमाउने प्रवृत्ति हावी भयो,’ उनले कटाक्ष गरे, ‘बैठकमा पनि उहाँ उभिने, भाषण गर्ने, जे मन लाग्छ त्यही बोल्ने। उहाँले भनेको कुरा नै माक्र्सवाद, उहाँले भनेको नै जबज—यस्तो पनि हुन्छ नेतृत्व?’

यसैबीच, अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ महाधिवेशनमा छुट्टै राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्। उक्त प्रतिवेदनबारे अध्यक्ष ओलीलाई जानकारी गराउन पोखरेल गुण्डु जाने कार्यक्रम रहेको बताइएको छ।

टिप्पणीहरू