लहानमा दलित आन्दोलन, मेयर चौधरीको पुत्ला दहन
सिरहाको लहान नगरका मेयर महेशप्रसाद चौधरीविरूद्ध दलितहरू आन्दोलित भएका छन् । लहान– १८ का दुतिलाल महराको १५ नम्बर वडामा रहेको १७ कठ्ठा जग्गामा नगरपालिकाले बल प्रयोग गरेर फोहोर डम्पिङ् गरेपछि त्यसविरूद्ध दलितहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसैबीच आन्दोलनकारीले मेयर चौधरीको पुत्ला जलाएका छन् । आन्दोलित दलितहरूले हिजो पूर्व–पश्चिम राजमार्गमा पुत्ला दहन गरेका हुन् । उनीहरुले मेयर चौधरी मुर्दावादलगायत नारा लगाएर जुलुस निकालेपछि चोकमा कोणसभा गरेका थिए ।
पीडित दुतिलालले नगरले जबरजस्ती फोहोर फालेको स्थान आफ्नो जग्गा भएको बताउँदै भने, ‘मेरो नम्बरी जग्गामा जानकारी नै नदिई फोहोर डम्पिङ् गरे । उक्त कार्यको विरोध गर्दा मेयर चौधरीले प्रहरी लगाएर दमन गरे ।’
उनका अनुसार प्रहरीले घरमा आगो लगाएर भत्काइदिएका छन् । न्यायका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धाउँदा समेत कुनै सुुनुवाई भएन । संयुक्त दलित संघर्ष समितिको आयोजनामा सुरू भएको आन्दोलन दुतिलालले न्याय नपाउञ्जेल जारी रहने समितिका संयोजक मनोज पासवानले बताए ।
यता नगरपालिकाले माओवादी नेता विजयकुमार गुप्ताको संयोजकत्वमा वार्ता समिति गठन गरेर वार्ताका लागि आह्वान गरेको छ । आन्दोलनमा पिछडावर्ग समुदायले पनि ऐक्यबद्वता जनाएको छ ।
टिप्पणीहरू