पक्राउ पुर्जी जारी,समात्ला त विप्लवलाई प्रहरीले ?

पक्राउ पुर्जी जारी,समात्ला त विप्लवलाई प्रहरीले ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले उनीसहित तीन जनाविरुद्ध त्यस्तो पुर्जी जारी गरेको हो । 

नेपाल सरकार वादी र हेमन्तप्रकाश ओली प्रतिवादी रहेको राज्य विरुद्धको कसुर अपराधमा चन्दसहित चार जनाविरुद्ध पक्राउ पुर्जीको सूचना जारी गरिएको हो । उनीहरुविरुद्ध सरकारले २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो ।

 

पक्राउ पुर्जी जारी भएकामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, र उपत्यका ब्युरो इञ्चार्ज माइला लामा छन् । 

अदालतले मंसिर १० गते जारी गरेको सूचनामा भनिएको छ, ‘यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुनुहोला । म्याद गुजारी बसेमा कानूनबमोजिम हुनेछ । पछि कुनै उजुरबाजुर लाग्ने छैन ।’

विप्लव नेतृत्वको नेकपा सत्तारुढ नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहितको समाजवादी मोर्चामा आवद्ध छ ।

टिप्पणीहरू