बिआरआईलाई कम्पनी मोडलमा लान उतैको सुझाव

बिआरआईलाई कम्पनी मोडलमा लान उतैको सुझाव
सुन्नुहोस्

नेपालमा चिनियाँ परियोजना बिआरआई अघि नबढ्नुमा भूराजनीतिक कारण प्रमुख मानिएकोमा एकजना चिनियाँ बुध्दिजीवीले पनि त्यस्तै धारणा राखेका छन् । बिआरआईमा आबध्द बिभिन्न देशका प्रतिनिधिहरूको साँघाईमा जारी सेमिनारमा अनुसन्धानकर्ता समेत रहेका 'साँघाई बिजिनेस स्कूल' का प्राध्यापक फेङ्ग सौजुनले बिआरआई परियोजना अघि नबढ्नुमा भूराजनीतिक कारण औँल्याएका हुन् ।

सेमिनारमा नेपाली प्रतिनिधिले राखेको जिज्ञासाको जवाफमा उनले भने, 'नेपालमा बिआरआई अगाडि बढ्न नसक्नुको कारण जियोपोलिटिकल टेन्सन नै हो ।'प्राध्यापक सुजानले बिआरआई परियोजनाको मोडालिटी परिवर्तन गर्नुपर्ने रायसमेत राखेका छन् । दुई देशका सरकारबीच परियोजना कार्यान्वयन सम्झौता हुँदा त्यसले भूराजनीतिक समस्या निम्तिने भएकाले कम्पनी मोडलमा जानुपर्ने उनको सुझाव छ ।

'म हाम्रो केन्द्रीय सरकारलाई आग्रह गर्न चाहन्छु बिआरआई परियोजना सरकारी तहमा होइन प्राइभेट कम्पनीलाई दिने मोडलमा जानुपर्छ', उनको भनाई छ । सिमाना जोडिएको निकट छिमेकी देश हुनुका कारण नेपाललाई चीनले बिशेष प्राथमिकतामा राखेको पनि प्राध्यापक सुजानले जानकारी दिए । 

चिनियाँ वाणिज्य मन्त्रालयको आयोजनामा गत शुक्रबारदेखि जारी एक साता लामो सेमिनारमा बिआरआई सम्झौतामा हस्ताक्षर गरेका नेपालसहित श्रीलंका, म्यानमार,ब्राजिल,भेनेजुएला, इजिप्ट,पोर्चुगल,उरुग्वे,भानुआटु, क्युवालगायत १२ देशका ३६ प्रतिनिधि सहभागी छन् । सेमिनारमा चीनको विकास,अहिलेको आर्थिक अवस्था र बिआरआईको महत्वका बिषयमा सरोकारवाला बिभिन्न क्षेत्रका बिज्ञहरुले प्रशिक्षण दिएका छन् ।

साथै चीनको राजनीतिक तथा आर्थिक प्रणालीबारे रहेको भ्रम निवारण गर्न पनि सेमिनारको भूमिका रहने विज्ञहरुको विश्वास छ । साँघाई बिजनेश स्कूलकी प्राध्यापक बेईमिन लिऊले भनिन्, 'पश्चिमा मिडियाहरुले फैलाएको प्रोपोगाण्डा चिर्न पनि यस्ता सेमिनारहरू महत्वपूर्ण हुन्छ भन्ने विश्वास छ।'

टिप्पणीहरू