एमाले युवासंघमा चर्को असन्तुष्टिपछि राजीनामाको श्रृंखला
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघभित्रको असन्तुष्टि चुलिएको छ । गत मंसिर ८ र ९ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेको कार्य विभाजनमा असन्तुष्ट सदस्यहरुले धमाधम राजीनामा दिन थालेका हुन् ।
नवौं राष्ट्रिय महाधिवेशनबाट बैतडीको भुगोलअन्तर्गत निर्वाचित केन्द्रीय कमिटी सदस्य लोकेन्द्र भण्डारीले हिजो अध्यक्ष क्षितिज थेबेलाई सम्बोधन गरेर राजीनामा बुझाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुँदा संगठनको केन्द्रीय सदस्यमा मनोनित भएर युवासंघको विभिन्न भूमिकामा रहिसकेका उनले कार्य विभाजनप्रति चर्को असन्तुष्टि जनाउँदै संगठन त्यागेका हुन् । हालैको कार्य विभाजन नितान्त पूर्वाग्रही भएको उनको आरोप छ ।
‘राष्ट्रिय युवासंघजस्तो लाखौं युवाहरुको लोकप्रिय संगठनमा कार्यकालका हिसाबले चार कार्यकाल (रमेश पौडेल, बचन सिंह, किरण पौडेल र क्षितिज थेबे) केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय कमिटी सदस्य, बैतडी जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हालेर फेरिपनि राष्ट्रिय युवासंघ, नेपालमा रहेर काम गर्ने इच्छा हुँदाहुँदै पनि युवासंघ नेपालको केन्द्रीय कमिटीको मिति २०८० मंसिर ८ र ९ गते बसेको केन्द्रीय कमिटी बैठकबाट गरिएको कार्य विभाजन नितान्त पूर्वाग्रही ढंगबाट गरिएको कुराप्रति सहमति जनाउँदै मैले आजका मितिबाट केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा गरेको छु’, पत्रमा उल्लेख छ ।
त्यस्तै, एमालेको निर्वाचन आयोगको उपप्रमुख पदमा कार्यरत तथा युवासंघको विभिन्न कमिटीमा बसेर काम गरिसकेका रामबहादुर छत्कुली (बाबु) ले पनि राजीनामा दिएका छन् । उनले युवासंघको कुनै पनि कमिटी तथा पदमा नरहने घोषणा गर्दै आफ्नो सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जानकारी गराएका छन् ।
विशेष कारणले संगठनको कुनै पनि पदमा रहन नसक्ने उनले बताएका छन् । केन्द्रीय कमिटीको बैठक बसेको भोलिपल्ट बुझाइएको राजीनामामा भनिएको छ, ‘सबैको साथ र सहयोग हुँदाहुँदै पनि मेरो विशेष कामका कारण आजको दिनदेखि राष्ट्रिय युवासंघका कुनै पनि कमिटी तथा पदमा रहन नसक्ने जानकारी गराउँदै राजीनामा दिएको छु ।’ पछिल्लो समय युवासंघ भित्रको विवाद बढ्दो क्रममा देखिन्छ।
कमिटीको बैठकपछि दर्जनौं सदस्यले राजीनामा दिएको बताइन्छ । स्रोतका अनुसार रोशन लामा (गौरव), रामकाजी वान्तवा, ज्ञानु दाहाल, वीरेन्द्र भट्ट, विष्णु पोखरेल, प्रज्वलप्रताप सापकोटालगायतले पनि संघ छाडेका छन् । ‘अहिले संगठनमा व्यापक असन्तुष्टि छ । सदस्यहरुले धमाधम राजीनामा दिन थालेका छन् । राजीनामा नलेखेपनि अधिकांशले युवासंघ छाडेको देखिन्छ’, स्रोतले भन्यो ।
टिप्पणीहरू