प्लेन उडाउन माग गर्दै गृहमन्त्रीको नेतृत्वमा एअरपोर्ट अगाडि धर्ना

प्लेन उडाउन माग गर्दै गृहमन्त्रीको नेतृत्वमा एअरपोर्ट अगाडि धर्ना

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग राख्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे धर्ना बसेका छन् । आज विमानस्थलको गेटमै पुगेर उनी त्यहाँ आयोजित विरोध तथा धर्ना कार्यक्रममा सामेल भएका हुन् । 

विमानस्थल सञ्चालन गर्न संघीय सरकारलाई दबाब दिने उद्देश्यले सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा विभिन्न क्षेत्रका व्यक्तिहरुले हिजोदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका छन् । धर्नामा सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञावली, संयोजक चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गाना, क्षेत्री समाज भैरहवाका अध्यक्ष मिलन बस्नेत, लुम्बिनी उद्योग व्यवसायी संघका उपाध्यक्ष  कुलप्रसाद न्यौपाने, लुम्बिनी प्रदेशका सांसद बशिरुदिन खाँलगायत ३० जना सहभागी छन् । 

धर्नाकारीलाई साथ दिन पुगेका मन्त्री पाण्डेले विमानस्थल सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिन माग गरेका छन् । त्यसक्रममा उनले विमानस्थल सञ्चालन नहुँदासम्म निरन्तर दबाब दिइराख्ने र त्यसका लागि पद त्याग्न परे पनि पछि नहट्ने घोषणा गरे । 

विभिन्न दबाबमूलक कार्यक्रम अघि सारेको सिद्धार्थ सञ्जालले माग पूरा नभए अनिश्चितकालिन आन्तरिक हवाई उडान सेवा बन्द गर्ने चेतावनी पनि दिएको छ । आगामी पुस २ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा संघीय सरकारसँग वार्ता गर्ने तर त्यसबाट ठोस निर्णय नआए अनिश्चितकालीन आन्तरिक हवाई उडान र बेलहिया नाका बन्द गर्ने धर्नाकै क्रममा घोषणा गरिएको छ ।

टिप्पणीहरू