पहिचान पक्षधरहरुलाई समात्दै, खोरमा थुन्दै

पहिचान पक्षधरहरुलाई समात्दै, खोरमा थुन्दै

कोशी प्रदेश नामकरण विरोधी समूहले घुर्मीबाट पूर्वको चिवाभञ्ज्याङ पहिचान जागरण २०८० आन्दोलन थालनी गरेको छ । तर आन्दोलनको शुरुवाती चरणमा नै तिनका नेताहरुलाई प्रहरीले विभिन्न बहानामा पक्राउ र धरकपड गरेको बताइएको छ । 

हालसम्म प्रहरीले पूर्वमन्त्री गोपाल किराती, जनता समाजवादी पार्टीका खोटाङका नेता राजेश राई, गन्धमान राई, विजय राई, खोटाङकै नुनथलाबाट उदिम राई र भोजपुरबाट किरात यायोख्याका अध्यक्ष बिदुर राई, जसपाकी नेतृ मीना राई, दिनेश राई र पवन राईलाई पक्राउ गरेको आन्दोलनकारी समूहको भनाई छ । 

पूर्वमा एक नम्बर प्रदेशको नामकरण कोशी गरिएपछि त्यसको विरोधमा बन्दै गएको जनमतले आन्दोलनको रुप लिन थालेको हो । यो जागरण अभियान आज र भोलिका लागि आह्वान गरिएको छ । 

सोही क्रममा एमालेको बैतडी, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि संकल्प यात्रा, २०८० को अभियानमा संलग्न समूह पनि उदयपुरको घुर्मीमा आइपुगेको छ । दुबै समूह एक अर्काप्रति आक्रामक देखिएका कारण पुष्पलाल मध्य पहाडी राजमार्गको ठाउँठाँउमा व्यापक संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

घुर्मी भञ्ज्याङमा एमाले नेता तथा कार्यकर्ताहरु सिन्धुली, उदयपुर, ओखलढुगा सोलुखुम्बु र खोटाङलगायत जिल्लाबाट एकत्रित हुने क्रम जारी छ । अर्कोतर्फ प्रहरीले पहिचानवादीको आरोपमा एमालेको झण्डा नबोकेका सर्वसाधारण बटुवा र यात्रुलाई रोक्ने, सोधपुछ गर्ने, बाटोमा होल्ड गर्ने काम भइरहेको पहिचानवादीले आरोप लगाएका छन् ।

एमाले यात्राको नेतृत्व अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्नुभएको छ । यात्रामा केन्द्रीय नेताहरु प्रायः सबै सहभागी छन् ।

 

टिप्पणीहरू