राष्ट्रपतिले रोकेपछि भरतराजको जिम्मा पदमप्रसादलाई
प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले संघीय संसद सचिवालयमा महासचिवको जिम्मेवारी पाएका छन् । महासचिवका लागि सिफारिस भएका उनले तत्कालका लागि कार्यवाहक पाएका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको जिम्मा दिएको संसद सचिवालयले जनाएको छ । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काम प्रभावित भएको,लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्ति हुन नसकेको लगायतका कारण देखाएर सभामुखले उनलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको बताइएको छ ।
यसअघिका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र अध्यक्ष तिमल्सिनाले पाण्डेयलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । तर भरतराजको राजीनामा स्वीकृत नहुँदै नयाँ नियुक्तिको सिफारिस आएको भन्दै राष्ट्रपति कार्यालयले 'अध्ययन' मा राखेको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने स्थितिमा भरतराजलाई राजीनामा गराएर एमाले निकटका पाण्डेयलाई रातारात महासचिव नियुक्तिको सिफारिस गरिएको शीतल निवासको गुनासो छ । सभामुख र अध्यक्षको सो निर्णयलाई लिएर सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
टिप्पणीहरू