साफ खेल्ने महिला छान्दै एन्फा, सक्कल नागरिकता र पासपोर्ट अनिवार्य

साफ खेल्ने महिला छान्दै एन्फा, सक्कल नागरिकता र पासपोर्ट अनिवार्य

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१९ र यु–१६ महिला खेलाडी छनौट कार्यक्रम सञ्चालन गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सन् २०२४ फेब्रुअरी १ देखि ११ र मार्च १ देखि ११ सम्म आयोजना गरेको ‘साफ यु–१९, यु–१६ वुमन्स च्याम्पियनसीप २०२४’ मा सहभागी हुने नेपाली महिला फुटबल टोली निर्माणका लागि छनौट कार्यक्रम गर्न लागिएको हो । 

एन्फाका अनुसार यु–१९ को छनौट आगामी पुस १ देखि ६ गतेसम्म र यु–१६ को पुस ७ देखि १२ गतेसम्म हुनेछ । पहिलो चरणमा जिल्लाबाट खेलाडी छनौट गरिनेछ । जिल्ला फुटबल संघहरुले आ–आफ्नो जिल्लाअन्तर्गतका क्लब, विद्यालय तथा क्याम्पसहरुमा रहेका युवा महिला खेलाडीहरु छनौट गरी उनीहरुको नाम प्रदेश फुटबल संघ र एन्फामा पठाउनुपर्नेछ । 

यु–१९ अन्तर्गत खेल्ने खेलाडीको जन्ममिति २०६३ पुस १७ देखि २०६५ पुस १६ गतेसम्म हुनुपर्ने र यु–१६ को हकमा २०६५ पुस १७ देखि २०६८ पुस १६ गतेसम्म हुनुपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, खेलाडीसँग सक्कल नागरिकता र पासपोर्ट अनिवार्य हुनुपर्ने एन्फाले जनाएको छ ।

टिप्पणीहरू