दिउँसो सांसदले कुरा सुनाउने, राति यमगजले घरै सिध्याउने
जाडोयाम सुरु हुनासाथ हरेक वर्ष मकवानपुरको मनहरी गाउँपालिकाका मध्यवर्ती क्षेत्रका बस्ती र खेतीपातीमा हात्तीले आक्रमण थाल्ने गरेको छ । दिनभर काममा थाकेका स्थानीय बासिन्दा रातभर आगो बालेर हात्ती लखेट्न बाध्य भएको बताउँछन् ।
वन्यजन्तुको समस्या समाधानका लागि संसददेखि टोलको भेलासम्म नेताहरु गुलिया कुरा गरेको उनीहरुले सुनेका छन् । उनीहरुले पनि ती कुरा पत्याउँदै उनैलाई चुनावमा जिताउँदै आएका छन् । तर, गाउँघरमा भीमकाय हात्ती, बाघ र गैंडा पस्न छाडेका छैनन् ।
२०६३ सालदेखि पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषित भएपछि मकवानपुरका मनहरी, हाँडीखोला, पदमपोखरी क्षेत्रका बासिन्दा वन्यजन्तुबाट आजित छन् । गत मंगलबार राति त्यस्तै भयो ।
यमगज नामको जंगली हात्तीले पर्सा राष्ट्रिय निकुञ्जबाट मनहरी गाउँपालिका वडा नम्बर ७ को मध्यवर्ती क्षेत्रतर्फ प्रवेश गरेर दुई वटा घर भत्कायो । खाद्यान्नमा समेत क्षति पुर्यायो ।
घटनापछि बुधबार बिहान मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडाध्यक्ष ठाकुरराम तितुङ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याललगायत नेताहरु घटनास्थल पुगे । उनीहरुले क्षतिको विवरण संकलन गर्ने र जनतालाई नआत्तिनका लागि सम्झाउँदै निकुञ्ज कार्यालयलाई हात्ती नियन्त्रणका लागि दबाब पनि दिए ।
त्यसपछि घटनास्थल पुगे सांसद महेश बर्ताैला । उनले पनि निकै लामो समय लिएर स्थानीय बासिन्दा, एमाले नेता तथा कार्यकर्ताहरुलाई राखेर वन्यजन्तु समस्या समाधानका लागि छलफल चलाए । छलफलपछि सबै आ–आफ्नो बाटो लागे ।
साँझ परेपछि यमगजले पुनः बस्तीमा छिरेर तान्डव देखाउन थाल्यो । मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्षसमेत रहेका मुक्तिनाथ अधिकारीका अनुसार यमगजले नरिवलको बिरुवा रोप्नका लागि ठिक्क पारिएको क्षेत्रमा क्षति पुर्याएको छ । कम्पाउण्ड बनाउन गाडिएका २४ वटा पोलमा यमगजले राति नै क्षति पुर्याएको उनले बताए ।
‘दिनभर सांसद, अध्यक्ष र नेताहरु आएर गफ सुनाए, राति यमगजले ताण्डव देखायो’, अधिकारीले भने । उनले वन्यजन्तुबाट बच्नका लागि विद्युतीय झट्काको भर नपरी कंक्रिट पर्खाल ठड्याउन नेताहरुले केन्द्रीय र प्रादेशिक रुपमा कुरा उठाउनुपर्ने बताए । पछिल्ला दिनमा यमगजले मनहरी गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडामा निरन्तर आक्रमण र क्षति पुर्याइरहेको छ । नेताहरुले संसददेखि टोलसम्म वन्यजन्तु नियन्त्रणका लागि गुलिया कुरा गर्न छाडेका छैनन्, यता यमगजसहित वन्यजन्तुले पनि विनासको क्रम जारी राखेका छन् ।
टिप्पणीहरू