मन्त्री बस्नेतले एक वर्षमा के गरे त चमत्कार

मन्त्री बस्नेतले एक वर्षमा के गरे त चमत्कार

गाउँठाउँमा राम्रै विकास निर्माणका काम गर्लान् भनेर बाक्साभरि भोट दिई पठाइएका जनप्रतिनिधिले जितेर एक वर्षभित्र सिन्को पनि भाँच्न नसकेपछि अहिले सिन्धुपाल्चोकका जनता पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट जितेका उनी स्वास्थ्यमन्त्रीसमेत छन् । क्षेत्र नं. १ बाट टिकट नपाएपछि ठाउँ सरेका बस्नेतले जितेर प्रमाणपत्र हात थापेको पनि यही आइतबार ३७८ दिन पुगिसकेको छ । 

यसरी पछुताउनेमध्ये सबैभन्दा बढी सानोसिरुवारीका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–७ का जनताले यसरी भोट खन्याइदिएका थिए कि ४९ वटा वडा रहेको क्षेत्र २ मध्ये उनको पक्षमा सबैभन्दा बढी भोट नै त्योे वडाबाट खस्यो । जुन वडाबाट सबैभन्दा बढी भोट आफ्नो पक्षमा खस्छ, त्यहाँ २५ करोडको योजना पारिदिने आश्वासन उनले दिएका थिए । त्यो आश्वासनलाई पत्याउँदै वडा वडाबाट बस्नेतलाई भोट बढी दिन प्रतिस्पर्धा नै चल्यो ।

भारी मतान्तरले विजयी पनि बने । तर, एक वर्ष कटिसक्दा पनि २५ पैसाको विकासे काम गर्न नसकेपछि सबैभन्दा बढी भोट खसालेका सानोसिरुबारीका जनता रुष्ट बनेका छन् । ‘एक वर्ष भयो न आफूले जिताएर पठाएका मन्त्री बस्नेत गाउँ फिरे, न त २५ करोडको योजना नै आयो,’ स्थानीय उमा दुलालले दुखेसो पोखिन् । 

त्यसो त बस्नेतले अहिलेसम्म क्षेत्र नं. २ मा दुई कौडीको पनि काम गरेका छैनन्, बरु उल्टै यसअघि अरुले गरेका विकास, निर्माणलाई देखाउँदै यो मैले गरेको, त्यो पनि मैले गरेको भनेर हिँड्ने गरेका छन् । अहिले त क्षेत्रका औपचारिक कार्यक्रममा पनि देखा पर्दैनन् । क्षेत्र नं. १ मा भने चर्पी उद्घाटन गर्न पनि पुग्ने गरेको आरोप छ । 

यो क्षेत्रबाट माओवादी केन्द्रका माधव सापकोटा सुवोधले जितेका छन् । पूर्वसभामुख अग्निप्रसाद सापकोटाका भतिज सुवोधको प्रभाव यस क्षेत्रमा बढ्ला भन्ने चिन्ताका कारण पनि बस्नेतले जितेको क्षेत्र छाडेर आफ्नो गृहक्षेत्र १ नम्बरलाई विशेष प्राथमिकतामा राखेको बताइन्छ ।

०८४ को निर्वाचनमा आफ्नै क्षेत्रमा उठ्ने रणनीतिअनुसार उनले २ नम्बरलाई अपहेलना गरेको प्रष्ट देखिन्छ । त्यही भएर पनि खासगरी कांग्रेसनिकट जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक र गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायतलाई प्रमुख अतिथिका रूपमा आफूलाई नै निम्तो गर्न उर्दी नै जारी गरेको बताइन्छ ।

जुरे पहिरो पीडितलाई नगदै राहत उपलब्ध गराउने, क्षेत्र नं. १ कै लाइफ लाइन भनेर चिनिने तातोपानी नाका खुलाउनेजस्ता महत्वपूर्ण कार्यमा उनको कुनै भूमिका नरहेको घामजत्तिकै छर्लंग छ । यतिसम्म कि आफ्नो घर पलाँती जाने सडक स्तरोन्नतिका लागि पनि यता बाग्मती प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बजेट हालिदिएका छन् ।

संसदीय निर्वाचनको ३० वर्षपछि पहिलोपटक क्षेत्र नं.२ बाट कांग्रेसले विजय हासिल गरे पनि उनकै कारण अर्को पटकबाट फेरि पराजयको यात्रा शुरु हुने स्वयं कांग्रेसी बताउँछन् । टुरिष्ट उम्मेदवारलाई भरोसा गर्दा एकातिर पार्टीको साख गिरेको र अर्कोतिर विकास निर्माण पनि ठप्प भएको उनीहरूको जिकिर छ ।
 

टिप्पणीहरू