यसकारण बालकृष्ण खाँण अख्तियारबाट सिधै बंगलामुखी

यसकारण बालकृष्ण खाँण अख्तियारबाट सिधै बंगलामुखी

सात महिना थुनामा बसेर आज बाहिर निस्किएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बंगलामुखी मन्दिरको दर्शन गरेका छन् । थुनामुक्त भएलगत्तै उनी साँझ ललितपुरको बंगलामुखी मन्दिर पुगेका हुन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नता ठहर्याउदै जिल्ला अदालत काठमाडौँको आदेशले खाँण थुनामा पुगेका थिए । तर, हिजो उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्ने आदेश सुनाएको थियो ।  

त्यसपछि आज बिहानैदेखि खाँणको रिहाइको प्रकिया शुरु भएको थियो । उनले बिहान जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका थिए । त्यसलगत्तै यस प्रकरणमा अनुसन्धान गरिरहेका सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि सफाई लिएर खाँण साँझ रिहा भएका हुन् । 

खाँणलाई सम्पत्ति शुद्धिकरणले १५ लाख रुपैयाँ धरौटी लिएर छाडेको हो भने अख्तियारले साधारण तारिख लगाएको छ । यता, उनको स्वागतका लागि दिउँसैदेखि कारागार बाहिर नेपाली काँग्रेसका कार्यकर्ताहरु खादा र माला लिएर लाइनमा उभिएका थिए । तर, तिनीहरुलाई जिल्याउँदै खाँण मन्दिर दर्शन गर्न गएका हुन् । 

बंगलामुखीको भाकल (वाचा) गरे बिग्रेको काम बन्नुका साथै मनले चाहेको पूरा हुने धार्मिक विश्वास छ ।

टिप्पणीहरू