सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री महोत्तरी जाँदै, पूर्वप्रधानमन्त्री ओली फिदिमबाट फर्किंदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी जान लाग्नुभएको छ । उहाँ बिहान पौने १० बजे काठमाडौंबाट सेनाको हेलिकोप्टर ९ एन आरएएममा महोत्तरीको बर्दिबास जाने बताइएको छ ।
आजै सेनाको हेलिकोप्टरले जनकपुरमा पुष्पवृष्टि गर्ने कार्यक्रम छ । कल साइन एनए ०५५ हेलिकोप्टरले दिउँसो १ बजे जनकपुरको जानकी मन्दिर क्षेत्रमा पुष्पवृष्टि गर्ने छ । पुष्पवृष्टिको लागि उक्त हेलिकोप्टर काठमाडौंबाट त्यता जान लागेको हो । आज जनकपुरधाममा राम–सीता विवाह महोत्सव मनाईंदैछ ।
सेनाको अर्को हेलिकोप्टर काठमाडौंबाट पाँचथरको चिवा भञ्ज्याङ जाँदैछ । बिहान ९ बजे एनए ०५४ एएलएच हेलिकोप्टर फिदिम हुँदै त्यसतर्फ जाने बताइएको छ । चिवाबाट पुनः फिदिम आएर हेलिकोप्टर बिराटनगर हुँदै काठमाडौं आउने कार्यक्रम छ ।
हेलिकोप्टर नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फिदिमबाट चिवा भञ्ज्याङ पुर्याएर बिराटनगर हुँदै काठमाडौं ल्याउन जान लागेको बताइएको छ । एमालेले बैतडीको झुलाघाटबाट शुरु गरेको समृद्धि अभियानको आज अन्तिम दिन हो । चिवा भञ्ज्याङमा राष्ट्रिय झण्डाको झण्डोत्तलन र फिदिममा आमसभापछि १८ दिनको उक्त यात्रा औपचारिक रुपमा समापन हुने छ ।
टिप्पणीहरू