माननीयका प्रश्नमा श्रीमानलाई महाभारत

माननीयका प्रश्नमा श्रीमानलाई महाभारत
सुन्नुहोस्

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुलाई संसदीय सुनुवाई समितिका सदस्यहरुले ‘प्याकप्याकी’ बनाएको पाइएको छ । प्रश्नको ओइरो लगाएर सदस्यहरुले माथि जान लागेका न्यायाधीशहरुलाई च्यापेका हुन् । समितिका सदस्य कांग्रेस सांसद रमेशजंग रायमाझीले सोधेका प्रश्नले टेकप्रसाद ढुंगानालाई झसङ्ग बनाएको पाइयो । 

उच्च अदालतमा रहँदा आफूले गरेका फैसलाहरुको बुँदा–बुँदा केलाएर रायमाझी तयारी अवस्थामा आएका थिए । परेको उजुरीबारे छलफल गर्न बसेको समितिको बैठकमा रायमाझीले उनले गर्दा राज्यलाई अर्बौं रुपैयाँ घाटा लागेको आरोप लगाए । राजश्वसम्बन्धी मुद्दामा बदनियत राखेर फैसला गरेको भन्ने रायमाझीको प्रश्नमा उनी उम्किन खोजेका थिए । 

रायमाझीले सोधे,"तल बस्दा गरेको निर्णयको कारण तपाईंले राजश्वसँग सम्बन्धित मुद्दाहरु माथि पुगेर खत्तम पार्नुहुन्छ भन्ने छ नि ?’, जवाफमा उनले भने,‘मैले कानुनबमोजिम नै गरेको हुँ ।’ 

स्रोतका अनुसार ढुंगानाका कतिपय फैसला गलत देखिएको छ । उनले राजश्व दाखिला गरेको रकमलाई धरौटी कायम गर्न आदेश दिएको स्रोतको दाबी छ । रायमाझीले उनलाई एकपछि अर्को प्रश्न सोधेर हैरान पारेका थिए । यता,अर्की प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले भने सोधिएका प्रश्नमा कठोर जवाफ दिइन् । स्रोत भन्छ,‘उहाँले सोधकर्तालाई उल्टै झम्टिनेझैं गर्नुभएको थियो । हरेक प्रश्नमा उहाँको दह्रो जवाफ थियो ।’

अब्दुल अजिज मुसलमानले एकदमै रोचक जवाफ दिएका थिए । कांग्रेस सांसद रमेश लेखकको मुद्दाको चाप कसरी घटाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘न्यायाधीशले कजलिष्ट हात पर्नेबित्तिकै त्यहीअनुसार ढयाङ्गढयाङ्ग सुनुवाई गरेर फैसला गर्नुपर्ने हुन्छ । न्यायाधीशको काम नै त्यही हो । त्यसरी नै मुद्दाको चाप घटाउन सकिन्छ ।’

प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले भलादमी भएर सोधिएका प्रश्नमा आफ्नो धारणा राखेका थिए । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी,अब्दुल अजिज मुसलमान,महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको छ । सिफारिस भएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । नाम अनुमोदनका लागि पुस ४ गते  समितिको पुनः बैठक बस्नेछ ।
 

टिप्पणीहरू