सफाइ पाउनासाथ सांसद कोइरीलाई भिआइपी सुविधा
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले पहिलो पटक काठमाडौं विमानस्थलस्थित भिआइपी कक्षको प्रयोग गरेका छन् । गत वर्ष सांसद निर्वाचित भएदेखि निलम्बनको अवस्थामा रहेका उनले हालै निलम्बन फुकुवा भएपछि जनकपुर जाने क्रममा आज विशिष्ट कक्ष (भिआइपी रुम) प्रयोग गरेका हुन् ।
उनी आज पौने ३ बजे बुद्ध एअरको उडानमा पहिलो पटक सांसदको हैसियतमा जनकपुर गएका छन् । उनीसँगै सोही उडानमा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादव छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कोइरीमाथि सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या गरेको आरोप लागेको थियो । त्यसपछि फरार रहेका उनलाई जिल्ला अदालत महोत्तरीले सबै आरोपबाट सफाइ दिएपछि संसद सचिवालयले गत साता निलम्बन फुकुवा गरेको हो ।
टिप्पणीहरू